इलामः इलाममा प्रहरीले मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ भञ्ज्याङ क्षेत्रमा चेकजाँचका क्रममा फल्स बटम बनाएर लुकाइएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार २०८३ असोज ६ गते साँझ करिब ६:३५ बजे प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोलीले मेची राजमार्गमा चेकजाँच गरिरहेको थियो। सोही क्रममा राजदुवाली सडकको अवस्थाका कारण ठूला सवारीसाधनलाई डाइभर्सन गर्ने क्रममा ना.७ ख ८११६ नम्बरको फलामे ट्रक जबर्जस्ती अगाडि बढेपछि प्रहरीले रोक्न खोजेको थियो।

प्रहरीले ट्रकका चालकलाई सम्झाउने क्रममा चालक ट्रक स्टार्ट अवस्थामै छाडेर फरार भएको जनाएको छ। त्यसपछि जिल्ला प्रहरी कार्यालय इलामबाट थप प्रहरी टोली खटिई ट्रकको चेकजाँच गर्दा फल्स बटम बनाई भित्र लुकाइछिपाइ राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त ट्रक नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याएर तौल गर्दा ७९ बोरामा राखिएको १ हजार ४ सय ६० किलो ६१० ग्राम गाँजा बरामद भएको छ।
घटनामा संलग्न फरार चालकको खोजतलास भइरहेको र घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।




















