इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रबाट प्रहरीले एम्बुलेन्समा लुकाएर राखिएको ठूलो परिमाणको लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीका अनुसार एम्बुलेन्सभित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजाजस्तो देखिने करिब ४५० किलोग्राम लागूऔषध बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्राप्त प्रेस विज्ञप्तिअनुसार मिति २०८३ साल असोज ६ गते राति ११ बजेर १५ मिनेटको समयमा प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–२० स्थित तरहरा पानीपिया जंगल क्षेत्रको कोशी लोकमार्गमा जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको हो।

प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेको बा २ च ७६३ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा त्यसको पछाडिको भागमा पोका बनाई लुकाएर राखिएको गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको विज्ञप्तिमा उल्लेख छ।

WhatsApp Image 2026-09-23 at 11.07.34

उक्त एम्बुलेन्समा ‘त्रिवेणी सांस्कृतिक समूह’ लेखिएको रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरिएको करिब चार सय पचास किलोग्राम लागूऔषध गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीमा ल्याएको जनाएको छ।

घटनामा लागूऔषधको स्रोत, ओसारपसारमा संलग्न व्यक्ति तथा अन्य सम्भावित पक्षबारे अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले लागूऔषध नियन्त्रण तथा अवैध ओसारपसारविरुद्धको अनुसन्धानलाई अगाडि बढाइरहेको जनाएको छ।