सोलुखुम्बुः प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पाले जलवायु परिवर्तनका कारण जोखिमयुक्त हिमतालहरूको अध्ययन र पूर्वसूचना प्रणाली स्थापना गर्न सरकारसमक्ष माग गरेका छन् ।

  प्रतिनिधि सभामा बोल्दै सांसद शेर्पाले नेपालका हिमाली क्षेत्रहरू उच्च जोखिममा परेको भन्दै पुर्व सतर्कताको प्रणाली अपनाउन सरकारलाई आग्रह गरेका हुन् ।

   नेपालमा सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला आठ वटा हिमालहरू रहेका र पर्यटनको प्रचुर सम्भावना भए तापनि पछिल्लो समय जलवायु परिवर्तनले ठूलो चुनौती थपेको उनको भनाई छ ।

   दुई वर्ष अगाडि मात्रै थामे क्षेत्रमा हिमताल (ग्लेसियर) फुटेर क्षति पु¥याएको र हिमालहरू तीव्र गतिमा पग्लिरहेको स्मरण गर्दै उनले यसै वर्ष हिमाल पग्लिएर मात्र नभई संसारकै सम्भवतः सबैभन्दा उच्च स्थानबाट आएको पहिरो समेत व्यहोर्नुपरेको उल्लेख गरे ।

   सांसद शेर्पाले हिमाली क्षेत्रको सुरक्षा र पर्यटन उद्योगलाई जोगाउनका लागि जोखिमपूर्ण अवस्थामा रहेका विभिन्न तालहरूको तत्काल वैज्ञानिक अध्ययन–अनुसन्धान गर्न र स्थानीय बासिन्दा तथा पर्यटकको सुरक्षाका लागि भरपर्दो पूर्वसूचना प्रणाली जडान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।