पाँचथर ः फिदिम पाँचथरको एक गाउँपालिका प्रमुख र दुई वडाध्यक्ष पदमा शनिबार हुन लागेको उपनिर्वाचनमा २२ हजार ८५३ मतदाता मतदानमा सहभागी हुँदैछन् । फाल्गुनन्द गाउँपालिकाको प्रमुख पदमा हुने उपनिर्वाचनका लागि १६ हजार ५७७ जना मतदाता कायम भएका छन् ।

 यस्तै उपनिर्वाचन हुन लागेको फिदिम नगरपालिका–१ मा तीन हजार ६७६ र हिलिहाङ गाउँपालिका–७ मा दुई हजार ६०० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।
 उपनिर्वाचनका लागि मतदान केन्द्रमा आवश्यक प्रबन्ध मिलाई सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ । उपनिर्वाचनका लागि फाल्गुनन्द गाउँपालिकामा १३ मतदानस्थल र १० मतदान केन्द्र गरी २३ ठाउँमा मतदानको व्यवस्था मिलाइएको छ ।

 यस्तै फिदिम नगरपालिका–१ मा एक मतदानस्थल र तीन मतदान केन्द्रको व्यवस्था गरिएको छ भने हिलिहाङ गाउँपालिका–७ मा तीन मतदानस्थल र एक मतदान केन्द्र कायम गरिएको छ ।
  उपनिर्वाचनमा तीन पदका लागि २१ जनाले उम्मेदवारी दिएका छन् । उनीहरु सबै राजनीतिक दलबाट उम्मेदवार बनेका हुन् । यहाँ कुनै पनि पदमा स्वतन्त्र व्यक्तिको उम्मेदवारी छैन । फाल्गुनन्द गाउँपालिकाको प्रमुख पदमा आठ जनाको उम्मेदवारी छ । यहाँ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वीरबहादुर कुरुम्बाङ, नेपाली काँग्रेसका वृजहाङ आङ्देम्बे, समाजवादी पार्टीकी विमला आङ्देम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टीका ससुहाङ चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०का मोतीप्रसाद लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतेन चेम्जोङ, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङ र मङ्गोल नेशनल अर्गनाइजेशनका उदय सुनुवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

  फिदिम नगरपालिका–१ को वडाध्यक्ष पदमा सात जनाले उम्मेदवारी दिएका छन् । यहाँ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का गजाधर भट्टराई, नेपाली काँग्रेसका सुवराज थापा, समाजवादी पार्टीका गौरव लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीका मिलन गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०की कल्पना राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका वीरबहादुर केरुङ र राप्रपा लोकतान्त्रिकका तर्फबाट जानुका थाम्सुहाङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यही वडामा पाँचथर जिल्लाको सदरमुकाम फिदिमसमेत पर्दछ ।

 हिलिहाङ–७ को वडाध्यक्ष पदमा छ जनाको उम्मेदवारी छ । यहाँ वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का गेहनाथ रिजाल, नेपाली काँग्रेसका तिलविक्रम इधिङ्गो, राष्ट्रिय प्रजातन्त्र पार्टीका तुलप्रसाद पन्थाक, समाजवादी पार्टीका भुवानीप्रसाद लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०का मुक्तिनाथ खनाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धनबहादुर थाम्सुहाङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

तीनवटै स्थानका अध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको २०७५ माघ २६ गते निधन भएको थियो । यस्तै फिदिम नगरपालिका–१ का वडाध्यक्ष हर्कबहादुर मोक्तानको २०७६ साउन ६ गते निधन भएको थियो भने हिलिहाङ–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको २०७४ चैत १६ गते निधन भएको थियो । यहाँ रिक्त तीनवटै पदमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काँग्रेसका उम्मेदवारवीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।