विराटनगरः विराटनगरमा निजी कलेजहरूले ‘मर्जर’को प्रक्रिया शुरु गरेका छन् । शिक्षा ऐनको नवौं संशोधनले विद्यालय शिक्षा कक्षा १ देखि १२ वा ९ देखि १२ लाई तोक्नु अगाडिसम्म र विद्यमान अवस्थामा समेत विराटनगरमै उत्कृष्ट मानिएका दुई निजी कलेजहरू मर्जरको प्रक्रियामा गएका हुन् ।

विराटनगरको मेरिल्याण्ड मा.वि.द्वारा स्नातक तहका लागि सञ्चालित मेरिल्याण्ड कलेज र शिक्षादीप मा.वि.ले सञ्चालन गर्दै आएको हिमालय दर्शन कलेजका सञ्चालकले एकीकृत रूपमा कक्षा सञ्चालन गर्ने सम्झौता गरेका छन् ।
मेरिल्याण्ड कलेजमा अध्यापन हुँदै आएको बीबीएस र हिमालय दर्शनमा अध्यापन हुँदै आएको बीबीएस, बीएसआइटीसहित बीसीए, बीआइएम, बीएचएम हिमालय दर्शन कलेजमा अध्यापन हुने भएको छ । मेरिल्याण्ड कलेजमा अध्यापन हुँदै आएको बीबीएस हटेको छ ।

मेरिल्याण्ड कलेजका संस्थापक गुणराज ढुङ्गेल अध्यक्ष र हिमालय दर्शनका संस्थापक डा.भेषराज शर्मा खतिवडा सहअध्यक्ष रहने गरी ७ सदस्यीय नयाँ सञ्चालक समिति समेत गठन गरिएको सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
दुवै कलेजका सञ्चालक सम्मिलित पत्रकार सम्मेलनमा अध्यक्ष ढुङ्गेल र सह–अध्यक्ष खतिवडाले विराटनगरलाई कक्षा ११ र १२ मा जस्तै स्नातक तहमा विद्यार्थीको आकर्षण केन्द्र बनाउन मर्जरको प्रक्रिया अपनाएको पत्रकार सम्मेलनमा दाबी गरेका छन् ।

मेरिल्याण्ड देशभरमै उत्कृष्ट उच्च मावि तथा विद्यालय ऐन अनुसारको मावि मानिन्छ । शिक्षादीप कलेजसमेत प्रदेशभित्रकै उत्कृष्ट शिक्षालयको रूपमा मानिँदै आएको छ । दुवै मा.वि.को कक्षा ११ र १२ मा झण्डै ४ हजार विद्यार्थी व्यवस्थापन र विज्ञान विषयमा अध्ययनरत छन् । मेरिल्याण्ड माविले कक्षा ११ र १२ का लागि व्यवस्थापन विषयमा मात्रै विद्यार्थीलाई अध्यापन गराउँदै आएको छ भने शिक्षादीपले व्यवस्थापनसँगै विज्ञान विषय समेत अध्यापन गराउँदै आएको छ ।
कक्षा ११ र १२ अध्ययनका लागि विराटनगर विद्यार्थीको आकर्षण केन्द्र मानिन्छ । तर स्नातक तहका शैक्षिक कार्यक्रम भने विराटनगरमा खासै चलेका छैनन् ।

विराटनगरमा मेरिल्याण्ड कलेजले अन्तर्राष्ट्रियस्तरको स्नातक तहको व्यवस्थापन शिक्षामा समेत अध्यापन गराउँदै आएको छ । बेलायतको वल्भरहेम्टन विश्वविद्यालयको सम्बन्धनमा मेरिल्याण्डले बीबीए अध्यापन गराउँदै आएको हो । त्यसबाहेक मेरिल्याण्ड–एप्लाइड कलेजमार्फत् चार्टर्ड एकाउन्टेन्ट समेत पढाइ हुँदै आएको छ ।
शिक्षादीपले व्यवस्थापन, बीएस्सीआइटी, बीसिए, बीआइएम, बीएचएमजस्ता शैक्षिक कार्यक्रम हिमालय दर्शन कलेजमार्फत् अध्यापन गराउँदै आएको छ । दुवै कलेजको मर्जपछि थप लगानी भित्र्याउने योजना रहेको शिक्षादीपका अध्यक्ष ज्ञानबहादुर खड्काले बताए । उनका अनुसार विद्यार्थीलाई सेवा सुविधासहित उत्कृष्ट प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि थप ४ करोड रुपैयाँ लगानी भित्र्याइने छ ।

विराटनगरमा सबै शैक्षिक पाठ्यक्रमको पठनपाठन हुने प्रबन्ध मिलाउने र विराटनगरलाई शैक्षिक नगरीको रूपमा विकास गर्ने उद्देश्य राखिएको हिमालय दर्शन कलेजका निर्देशक भेषराज पोखरेलले पत्रकार सम्मेलनमा जनाए ।
पोखरेलका अनुसार एकीकृत भएको कलेजले चाँडै आइटी कलेजको स्थापना गर्नेछ ।