विराटनगरः बेवारिसे अवस्थामा भेटिएका वृद्धलाई नोबेल अस्पताल विराटनगरका सञ्चालक सुनिल शर्माले उद्धार गरेका छन् ।
उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ । मोरङको कानेपोखरी पुग्दा ७२ वर्षीय वृद्ध पीडाले छटपटाइरहेका थिए । बाँसको टहरोभित्र ओढ्ने ओछ्याउने बिना नै उनी सुतेका थिए । सिकिस्त बिरामी भएर थलिएका वृद्धलाई डा.शर्मा आफैंले उठाएर गाडीमा राखेका थिए ।

Uddar-photo-4
कानेपोखरीस्थित चिसाङ खोलाको पुल नजिक बेवारिसे अवस्थामा भेटिएका बिरामी वृद्धका आफन्तको पत्ता लागेको छैन । उनी कष्टपूर्ण तरिकाले बोल्छन् तर उनको बोली राम्रोसँग बुझिँदैन । उनले आफ्नो नाम कृष्णबहादुर राई र घर सुनसरी भएको बताएका छन् । उनी कसरी त्यो ठाउँमा पुगे भन्ने कसैलाई थाहा छैन । १ हप्ता अघिदेखि उनी त्यहाँ देखिन थालेको स्थानीय बताउँछन् ।
प्रयोगविहीन अवस्थामा रहेको बाँसको टहरोको भुइँमा सुतेका उनलाई झिँगाले घेरेको थियो । उनको शरीरमा हाड र छालामात्र रहेको छ । उनको छातीमा समस्या देखिएकाले सोही बमोजिम उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनी स्वस्थ भएपछि आफन्तको जिम्मा लगाइने अस्पताल स्रोतले जनाएको छ ।