इटहरीः आज विश्व फिजियोथेरापी दिवस मनाइँदैछ । सन् १८१३ को सेप्टेम्बर ८ मा स्वीस जिम्न्यास्ट हेनरिक लिगले रोयल इन्स्टिच्युट अफ जिम्न्यास्ट खोलेका थिए । सो संस्थाले विश्वमै पहिलो पटक गतिशीलता र पीडा निवारणका लागि मसाज, सुधारात्मक व्यायाम र अन्य कसरतको प्रारम्भ गरेको थियो । सन् १८९४ मा बेलायतमा चार्टड सोसाइटी अफ फिजियोथेरापी खुलेको थियो । फिजियोथेरापीको पहिलो कलेज भनें अमेरिकाको वासिङटनमा वाल्टर रिड आर्मी अस्पतालमा पहिलो विश्वयुद्धको समयमा भएको थियो । नेपालमा सन् १९८० को दशकमा सैनिक अस्पताल र कुष्ठरोग निवारक उपचार पद्धतिमार्फत् फिजियोथेरापी शुरु भएको पाइन्छ । त्यस्तै, भारतबाट तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत् फिजियोथेरापी गरिएको इतिहास पाइन्छ । सन् १९८३ मा आइओएम (इन्स्टिच्युट अफ मेडिसिन)ले फिजियोथेरापीलाई एसएलसी (एसइइ) पछिको ३० महिने कोर्सका रूपमा औपचारिक मान्यता दिएको थियो । सन् १९९० सम्ममा जम्मा ५० जनाले मात्रै फिजियोथेरापीसम्बन्धी अध्ययन गरेपछि आइओएमले नेपालमा सो कार्यक्रम बन्द गरेको थियो । पछि सन् २००२ पछि धुलिखेल मेडिकल इन्स्टिच्युटले फिजियोथेरापीलाई औपचारिक रूपमा शुरुवात गरेको थियो । नेपालमा भएको सशस्त्र द्वन्द्वका क्रममा अङ्गभङ्ग र घाइते भएको सैनिकको पुनर्वास र पुनस्र्थापनाका लागि सैनिक क्याम्प र विभिन्न अस्पतालमा फिजियोथेरापीको अधिक प्रयोग भएको थियो ।