इटहरीः प्रदेश १ मा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा धेरै बेथिति रहेको नेपाल विद्यार्थी सङ्घका नेता तथा इञ्जिनियर सागरसम्सेर शाहीले आरोप लाएका छन् । नेवि सङ्घको पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समिति अध्यक्ष समेत रहेका नेता शाहीेले बेथितिहरूकै कारण पूर्वाञ्चल विश्वविद्यालयले फड्को मार्न नसकेको बताए ।

अपारदर्शी छात्रवृत्ति तथा औसत नेपालीको आर्थिक पहुँचबाहिर विश्वविद्यालय भएको भन्दै शाहीले विश्वविद्यालयले हचुवामा सम्बन्धन दिने, गुणस्तर नहेर्ने बताए । उनले भने, ‘विश्वविद्यालय हो कि सपिङ कम्प्लेक्स हो ? खाली सम्बन्धन दिन मात्रै ध्याउन्न देखिन्छ । गरीबलाई पहुँच पुग्नेगरी स्तरीय र सुलभ शिक्षा दिँदैन विश्वविद्यालय ।’

संरचना एकातिर तर सञ्चालन अर्कोतिर गरेर पूर्वाञ्चल विश्वविद्यालयको बेथिति थपिएको नेता शाहीले बताए । आफूहरूले यही भदौ ११ गते ज्ञापनपत्र दिएर ध्यानाकर्षण गराइसकेको बताउँदै शाहीले विश्वविद्यालयका विभिन्न ९ वटा बेथितिविरुद्ध ज्ञापनपत्र दिएको पनि बताए ।

Nebi Sangh

‘शैक्षिक क्यालेन्डर बनाएर व्यवस्थित शैक्षिक वर्ष चलाउनेदेखि आगामी ६ महिनाभित्र स्ववियु निर्वाचन गर्न हामीले माग गरेका छौँ’, शाहीले भने, ‘विश्वविद्यालयले सम्बन्धन लिएर पनि पूर्वाधार पुर्याउन नसकेका नर्सिङ तथा इन्जिनयरिङका कक्षा सञ्चालन गर्ने शैक्षिक संस्थाहरूलाई कारवाही गर्नैपर्छ ।’ विश्वविद्यालयले तत्काल बेथितिहरू अन्त्य गर्न पहल नगरे नेवि सङ्घ आन्दोलनमा उत्रने पनि नेता शाहीले बताए । उनले भने, ‘अन्य सत्ताधारी विद्यार्थी सङ्गठनहरूले के गर्छन् थाहा छैन तर नेवि सङ्घले पूर्वाञ्चल विश्वविद्यालयका बेथितिहरू नसच्चिए चरणबद्ध आन्दोलन गर्छ ।’