धरानः कार्यक्रममा न सभापति थिए, न प्रमुख अतिथि । त्यहाँ न अन्य अतिथिहरूको लस्कर नै थियो ।

मञ्च खाली थियो र मञ्चाभिमुख भएर बसेका थिए सबै निम्तालुहरू । यहाँ शनिबार यस्तो अनौठो कार्यक्रमको चाँजो मिलाएको थियो, कलरव धरानले र सन्दर्भ थियो– स्वर्गीय कवि कृष्ण पाख्रिनका प्रतिनिधि कविताहरूको सङ्कलन ‘कविताहरू’ को विमोचन कार्यक्रम ।

कार्यक्रमका सञ्चालक एवम् ‘लिम्बुनी गाउँ’ का स्रष्टा राज माङ्लाकले छोटो भूमिकापछि पूर्वका ९ जना कविहरूलाई पालैपालो मञ्चमा बोलाए । उनले बोलाएका कविहरू थिए– कुन्ता शर्मा, बम देवान, टीका आत्रेय, सन्तोष थेबे, सीमा आभास, राजेश विद्रोही, देवान किराती, रामप्रसाद खरेल र धिरज याक्दुङ । यिनै ९ जना कविहरूले पुस्तकको विमोचन गरे ।

कवि कुन्ता शर्माले छोटो संस्मरणसहित विमोचित सङ्ग्रहभित्रकै एउटा कविता सुनाएपछि कार्यक्रमले गति लियो । त्यसपछि तिनै कविहरूले छोटो मन्तव्यसहित विमोचित सङ्ग्रहबाट नै कविताहरू सुनाए । यस क्रमको अन्त्यमा कवि बम देवानले कवि पाख्रिनसँगको संस्मरण सुनाएर कविता वाचन गर्दै कार्यक्रम सम्पन्न भएको जानकारी दिए ।

कार्यक्रम पूर्ण रूपमा कवि पाख्रिनमै केन्द्रित थियो । कविहरूले उनका रचनाको शक्ति र सामथ्र्यबारे चर्चा गरेका थिए । त्यस क्रममा कवि देवानले कवि पाख्रिनका कविताहरू माक्र्सवादी सौन्दर्यशास्त्रमा आधारित भएको बताए ।

‘उनी वैचारिक रूपमा परिपक्व कवि थिए’, उनले भने, ‘उनले आफ्ना रचनालाई समाज परिवर्तनमा केन्द्रित बनाएका थिए ।’ त्यसअघि कवि पाख्रिनका छोरा सुदीप पाख्रिनले आप्mना बुबाको सम्झना गर्दै मन्तव्य राखेका थिए । उनी आफैँ पनि लोकप्रिय कवि हुन् । मन्तव्यको क्रममा उनले आफ्ना बुबाको स्मृतिमा कृष्ण पाख्रिन प्रतिष्ठामार्फत् अक्षयकोष स्थापना गरी साहित्य क्षेत्रको विकासमा योगदान दिने योजना सुनाए ।

कृष्ण पाख्रिन प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकमा १६ वटा कविताहरू सङ्कलित छन् । कार्यक्रममा कवि पाख्रिनको कविता ‘एक टुक्रा बादल र सपना’ को भिडियो पनि देखाइएको थियो । सो भिडियोमा कवि सुदीपले नै आप्mना बुबाको कविता वाचन गरेका थिए ।

उपस्थित स्रोताहरूले ‘कविता–भिडियो’ बाट नयाँ स्वाद पाएका थिए । भिडियोको निर्देशन युनिक फोटोग्राफीका वीरेन सुब्बाले गरेका थिए भने अभिनय जीना तामाङले गरेकी थिइन् ।

krishna pakhrin news  (2)