बेलबारी: अचम्म लाग्न सक्छ विद्यालयमा पढ्न गएका विद्यार्थीहरू टपरी गाँस्छन् भन्दा । विवाह, व्रतबन्ध, पूजाआजामा विद्यार्थीहरू नयाँनयाँ लुगा लगाएर नाचगान तथा अन्य विभिन्न किसिमले रमाइलो गर्छन् ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाको सिद्धार्थ इङ्लिस स्कुलले कक्षा ८ र ९ मा पढ्ने छात्राहरूलाई टपरी गाँस्न सिकाउन थालेको छ । धार्मिक तथा पैतृक कार्यमा हातले बुनेको टपरीको प्रयोग हुन छाडेपछि विद्यालयले विद्यार्थीलाई सो सीप सिकाएको हो । ९० जना भन्दा बढी छात्राहरूलाई टपरी गाँस्न सिकाइएको विद्यालयले जनाएको छ ।
बजारमा प्लाष्टिकका सामग्रीको प्रयोग बढ्दै गएकाले विद्यार्थीले आफ्नो मौलिक कला संस्कृति समेत बिर्सदै गएकाले टपरी गाँस्न सिकाएको सिद्धार्थ इङ्लिस स्कुलका प्रधानाध्यापक अर्जुन बस्नेतले बताए । ‘पहिलो पाठशालाका रूपमा मानिएको घरपरिवारले नै आफ्नो संस्कार बिर्सदै गइरहेको छ,’ बस्नेतले भने, ‘विद्यार्थीले सिके भने आफ्नो धर्म संस्कार तथा खर्च समेत बचाउँछन् ।’
जङ्गलमा खेर गइरहेका पातको सदुपयोग गर्न सकिने र आर्थिक रूपमा समेत लाभ हुने उनले बताए । ‘विद्यार्थीले गएर परिवारलाई पातको टपरी प्रयोग गरौँ भनेर सिकाउँदा वातावरण प्रदूषण पनि कम हुन्छ’, बस्नेतले भने, ‘विवाह, व्रतबन्ध पूजा जस्ता धार्मिक काममा वनस्पतिको प्रयोग गर्न सकिन्छ । छर छिमेकीहरूलाई समेत उनीहरूले सघाउने भएकाले विद्यार्थीहरूलाई टपरी गाँस्न सिकाइएको हो ।’
जङ्गलमा गएर सालका पात ल्याएर विद्यार्थीलाई टपरी गाँस्न सिकाएको विद्यालयका सहायक प्रधानाध्यापक जेबी थुलुङले बताए । बाँसको सिन्का बनाउन समेत विद्यार्थीलाई सिकाएको उनले बताए । छात्राहरूलाई टपरी गाँस्न र छात्रहरूलाई उद्घोषण तथा घर वाइरिङ सिकाउन थालेको थुलुङले बताए । प्रत्येक हप्ताको १ दिन अतिरिक्त क्रियाकलापको रूपमा विद्यार्थीलाई नयाँनयाँ सीपमूलक तालिमहरू दिने विद्यालयले जनाएको छ ।