मौसीको बलेसी
उता पुगेको रातिमात्र हो,
कुन्तीदेवीको गोठ पनिओनै छ,
तीन हल गोरु, चर्पी,
बिजुलीको पोल ओनै छ ।
बडाहाकिम भन्छ सरेको छैन,
नसरेको भए बकेइनाको गाछी खै ?
माईथान खै ?
सर !
यो बडाहाकिम आफैँ उता सरे’छ
रिपोर्ट लेखुँ न सर,
चुनदेवीको पिल्लर कसले चोरेछ ?

मद्रासबाट छोरो
ट्याक्टर पठाइदिन्छु भन्छ
गिरतको दु कठ्ठा जमिन दिने वचन छ,
हरिरामले निमक हराम गरिदियो
त्यसैले सर,
आफ्नै जमिन कमाउने मन छ,
के गरुँ
अब त यो टुकडामा त दु मन चामलमात्र सुक्छ,
खाली जमिन जो छ,
जलखाइ मात्र पुग्छ
ऊ नेताले सुझाएछ
कि रासनकार्ड दिन्छ,
जमिन दिन्छ,
खेतमा बोरिङ, डीएपी, युरिया
बौवाको किताप,
डिसटीभी सब फिरी दिन्छ ।

खाली उता हिँड भन्छ
मन छैन सर,
यो माटोमा बचपन बिताएँछु
बहुत आमदानी गरेछु
बाबुहरूले कमाएको मिट्टी छ यो
नेता भन्दै थियो
संविधानले जमिन बेचिदियो
खै के हो बेचोस्
त बेचेकै सही
हलगोरु र चर्पी राखोस्,
खाली मिट्टी फर्काइदेओस्,
हिजो मात्र भोरमा,
परिवार सबले
त्यही जमिनभर आलु गोडेछ,
रिपोर्ट लेखुँ न सर,
चुनदेवीको पिल्लर कसले चोरेछ ?

आफ्नो नाम मानी सर
यो देशमा केही छैन
भोट माग्छ, मागिरहन्छ
नागरिकता बनाइदिँदैन
मन त लाग्छ त्यतै जाउँ
सबलाई भरपेट जलखाइ खिलाउँ
के गरुँ सर !
यो मिट्टीमा पचपन कटाएछु ।

उता पहाड गएछु एकबार
मलाई नेपाली भनिदिएन
ऊबेला बहुत दुखेथ्यो सर
आफ्नै देशको मान्छे चिनिदिएन
सबले थिचेर हामीलाई
दूर देशको जस्तो बनाएछ
र त मधेस देश भन्छु
ऊ चित्त बुझाउँदैन
नभनेर के गरुँ सर ?
कोहीले मेरो देश दिखाउँदैन
तर म नेपाली छु सर
दशगजामा घर छ
र तपता छ जमिनको मूल्य
बडाहाकिम भन्छ सरेको छैन
नसरेको भए बकेइनाको बोट खै ?
माईथान खै ?

सर !
यो बडाहाकिम आफैँ उता सरेछ
रिपोर्ट लेखुँ न सर,
चुनदेवीको पिल्लर कसले चोरेछ ?