बेलबारीः मोरङको बेलबारी नगरपालिकाको सभाहलमा शनिबार दिउँसो अनौठो दृश्य देखियो । हलमा २ सय जनाभन्दा बढीको उपस्थिति देखिन्थ्यो । हलको अग्रस्थानमा रहेको स्टेजमा बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार साहलगायत विशिष्ट व्यक्तिहरू देखिन्थे ।

स्टेजको पछाडि ठूलो ब्यानरमा बेलबारी गजल महफिल २०७६ लेखिएको थियो । औपचारिक कार्यक्रम शुरु भएपछि बेलबारीका मेयरलाई कार्यक्रम उद्घाटन गर्न बोलाइयो । सधैँझैँ मेयर सुवेदीले कार्यक्रमस्थलमा राखेको ब्यानर पढेर उद्घाटन गर्छन् भन्ने धेरैलाई थियो । तर उनले पनि गजल नै गाए । उनले गाएको गजलका शेर यस्ता थिए ।

बेलबारीमा बेल पाक्या छन् खानलाई आउनुस हजुर
स्वागत छ, बेलबारीमा महफिलमा गाउनुस् हजुर
बेतना छ, रमिते छ, संस्कृति झन् कतिकति
मौका मिलाई घुम्नलाई सालैपिच्छे धाउनुस् हजुर ।

arena tv add

उनले गजल गाउँदा नेपालसहित भारतबाट आएका गजलकार हौसला दिइरहेका थिए । शनिबार बेलबारी गजलमय बन्यो । राष्ट्रिय तथा स्थानीय गजलकारले बेलबारीलाई तताए । प्रकट पंगेनी ‘शिव’, वसन्त ओली ‘वसन्ती’, जीबी गजल, युवराज ठकुरी ‘अज्ञानी’, पुष्प अधिकारी ‘अन्जली’, अनन्त अनुराग, विराट अनुपम र सुन्दर कुरुपले आफ्ना गजल सुनाए ।

त्यस्तै, किसान प्रेमी, प्रमोद स्नेही श्रेष्ठ, मधु पोख्रेल, सुनिता तामाङ, पुरु लम्साल, कविता राई, तिला लेकाली, विवश बलिभद्र कोइराला, प्रकाशकिरण, टीका आत्रेय र रेखा सुवेदीले पनि गजल सुनाएका थिए । इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, कालिकोट, बाँके, काठमाडौं तथा भारतको सिक्किमबाट आएका गजलकारले ३८ ओटा गजल सुनाएका थिए । बेलबारी नगरपालिकाको आयोजनामा भएको महफिल प्रदेश नम्बर १ मै पहिलो पटक गरिएको आयोजकको दाबी छ ।