वेदनालाई हाँसोको अभिनयमा बदलेर
मन अमिल्याउँदै आस्थाको सिरानी लगाएर
तिमीलाई शब्द चपाउदै 
हल्का धाप मार्न सक्तिनँ 
मलाई भोकको गीतसँग 
अघाएको सङ््गीत भरेर नसुनाऊ
एकपल्ट विश्वासमा डढेलो लगाएर
अर्काेपल्ट बिरुवा उमार्न उपदेश दिने
तिम्रो सल्लाहसित मेरो विवाद छ 
दुईमा दुई जोडेर पाँच भन्न सिकाउने
तिम्रो गायत्रीसित मेरो विवाद छ ।
आवाज आइरहेकै छ कानको पर्दालाई चिर्दै
र फेरि पनि बस्ती छट्पटाइरहेको छ
‘ओ ! हामीलाई खान देऊ
जीवन ओइल्याएको पातपतिङ्गर होइन’
यसरी मान्छेहरू
बाँच्ने सहाराको खोजीमा निवेदन बोलिरहेका छन्
कसरी ढाँटिरहेछौ त्यो आवाजलाई 
हामी रोगव्याधरहित छौं भनेर
हामी बिहानको उज्यालो घाम तापिरहछौं भनेर ।
च्यातिएको चोलीबाट गरिबीको उपहास गर्दै
बाहिरबाटै देखिने बहिनीको यौवनमाथि
बैंस तिखारेर तिमी धावा बोलिरहेका छौ 
हाम्रो इमान्दारीमाथि भुतभुते खन्याएर
पर्तिर बसेर रमिता हेरिहेका छौ 
यो विवशतामा दयाको भीख पैंचो लगाउने
तिम्रो उधारो कारोवारसित मेरो विवाद छ 
एकपल्ट आमा बेचेर 
अर्काेपल्ट नारी दिवस मनाउने 
तिम्रो गायत्रीसित मेरो विवाद छ ।
घोडाको तस्बिरलाई गाई हो भनेर
ल्याप्चे लगाउन आत्माले मान्दैन
पिंजराभित्रको सुँगाले करकापमा परेर
‘गोपीकृष्ण कहो’ भनेझैं जिब्रो बटारेर
‘हवस् हवस्’ को भाषा पनि पढ्न मान्दैन
खरी समातेर पाटीमा 
बाजेले बुढो ‘क’लेख्न सिकाएझैं 
घाँटी निचोरेर ‘राम’ भन्न नसिकाऊ 
मरेकालाई खुवाउने र जिउँदालाई रुवाउने
रामको नामसित मेरो विवाद छ 
जुत्ताको नाप अनुसार खुट्टाको काँटछाँट गर्ने
तिम्रो गायत्रीसित मेरो प्रतिवाद छ । 
(‘फुटेर फेरि मनहरू’ कवितासङ्ग्रह २०४८ बाट )
                    
        
        
                            
                                                            
        



















