धरानः भोजपुरको हतुवागढी गाउँपालिकाको फलामढुङ्गामा कला साहित्य महोत्सव २०७६ सम्पन्न भएको छ ।

दुई दिने सो महोत्सवको पहिलो दिन भएको खुला कविता प्रतियोगितामा सुर्खेतका कवि विज्ञानराज कार्की पहिलो भए । यसैगरी तेह्रथुमकी कवि इन्दु केसी दोस्रो, हतुवागढीकै यादव समीर राई तेस्रो भए भने सुनसरीका किरण शिवाले सान्त्वना स्थान प्राप्त गरे । सो प्रतियोगितामा भारतको दार्जिलिङ र नेपालका विभिन्न भागबाट दुई सयभन्दा बढी कविता प्राप्त भएको आयोजकले जनाएको छ । सो अवसरमा अतिथि कविहरू कुन्ता शर्मा, रमेशचन्द्र अधिकारी, श्रीशिशा राई, मायामितु न्यौपाने, राजन इशारा, प्रकाश दिप्सालीलगायतले कविता वाचन गरेका थिए । सो अवसरमा राजेश विद्रोहीले कार्यक्रममा वाचित कविताबारे समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । सो अवसरमा कविहरू प्रकाश दिप्साली र राजन इशारालाई सम्मान पनि गरिएको थियो ।

महोत्सवको दोस्रो दिन समूहगत लोकनृत्य प्रतियोगिता भएको थियो । प्रतियोगितामा हतुवागढीकै विभिन्न क्लबबाट कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा राष्ट्रिय नृत्य निर्देशक महासंघका महासचिव नगेन्द्र राईले हाम्रा सांस्कृतिक नाचहरूलाई संरक्षण गर्नुपर्ने धारणा राखेका थिए । सो अवसरमा कवि श्रीशिशा राई र सङ्गीतकार राम थुलुङलाई विशेष सम्मान गरिएको थियो । हतुवागढीमा जन्मिएर अन्यत्र गई साहित्य र सङ्गीतको क्षेत्रमा विशेष योगदान दिएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रमको मुख्य आकर्षण फुलन्देकी आमा (उमेश राई) थिए । हतुवागढीमै जन्मिएका कलाकार राईको प्रस्तुति हेर्न टाढाटाढाबाट दर्शकहरू आएका थिए । उनी र हतुवागढीमै जन्मिएका अर्का कलाकार टाइफिटिङ बाजे (हिरण राई) को संयुक्त प्रस्तुतिबाट दर्शकहरूले निकै मनोरञ्जन लिएका थिए । सो अवसरमा हतुवागढीकै कलाकारहरू बाबुराम प्रधान र लीला राईले आफ्ना गीतका माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए ।

arena tv add

महोत्सवका प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपानेले हतुवागढी जिल्लामा पछाडि पारिएको क्षेत्र भए पनि अब भने विकासको मार्गमा अघि बढ्न थालेको महसुस हुन थालेको बताए । उनले विकासका लागि सरकारको मात्र मुख नताकी नागरिकहरू आफैँ सक्रिय हुनुपर्ने धारणा राखे । यस्तै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले आफूहरू सबै क्षेत्रको सन्तुलित विकासमा लागिपरेको बताए ।

महोत्सव हतुवागढी गाउँपालिकाको सहयोगमा हतुवागढी कला साहित्य तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको हो । प्रतिष्ठानका अध्यक्ष कृपालसिं राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्वजित राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रतिष्ठानका सचिव लालबहादुर राई र लालबाबु प्रधानले सञ्चालन गरेका थिए ।

hatuwagadhi 1