धरानः धरानका ३ जना युवती प्रथम महिला फिटनेस च्याम्पियनसिपमा सहभागी हुन पोखरा प्रस्थान गरेका छन् । शारीरिक सुगठनअन्तर्गत पर्ने वुमन फिटनेस राजधानी बाहिर पहिलो पटक पोखरामा हुन लागेको हो ।
यही भदौ १५ र १६ गते पोखरामा तेस्रो बुल्समेन शारीरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनसिप आयोजना हँुदैछ । यो च्याम्पियनसिपमा धरानबाट अञ्जना राई, टिना लिम्बू र झुना राई पहिलो पटक सहभागी हुँदैछन् । उनीहरू प्रदेश १ कै पहिलो महिला फिटनेस खेलाडी पनि हुन् ।
जिम हल तथा फिटनेस क्लब जाने युवायुवती अत्यधिक भए पनि शारीरिक सुगठन खेलप्रति भने उनीहरूमा त्यति धेरै रुचि छैन । पुरुषको तुलनामा महिला खेलाडीको खडेरी छ । यस्तो प्रतिकूल समयमा पनि पूर्व मिस्टर नेपाल (८० केजी तौल) पारस भुजेलले कडा मिहिनेत गरेर धरानमा ३ जना महिला फिटनेस खेलाडी तयार पारेका हुन् ।
प्रशिक्षक भुजेलका अुनसार उनीहरूलाई विगत ४ महिनादेखि कडा मिहिनेत गरेर च्याम्पियनसिपको लागि तयार गरिएको हो । तीन जनामध्ये अञ्जना ‘वेट लिफ्टर’ खेलाडी पनि हुन् । केही समयअघि काठमाडौंमा भएको प्रतियोगितामा उनले तेस्रो हँुदै कास्य पदक जितेकी थिइन् । फिटनेस खेलमा महिला खेलाडीको सङ्ख्या न्यून भएको बेला पोखरामा आयोजना हुने प्रतियोगिताले महिलाहरूलाई यो खेलतर्फ आकर्षित गराउन सक्ने उनको अपेक्षा छ ।
‘३ जनाले धेरै मेहनत गरेका छन्, पोखराबाट जितेर आउँछन् भन्ने लागेको छ,’ खेलाडीसहित पोखरा प्रस्थान गर्नुअघि भुजेलले भने ।
वुमन फिटनेस पुरुष बडीबिल्डिङ प्रतियोगिताको जस्तै हुन्छ । तर, महिलाहरूले पुरुषले जस्तो अन्तर्राष्ट्रिय ७ वटा पोज देखाउनु भने पर्दैन । खेलाडी अञ्जनाका अनुसार वुमन फिटनेस च्याम्पियनसिपमा ५ वटा पोज मात्र देखाउनु पर्छ । महिलाहरूलाई पुरुषले जस्तो हात मुठी कसेर बल गर्न भने छुट हँुदैन । जसले गर्दा पोज देखाउन महिलालाई निकै गाह्रो हुने उनी बताउँछिन् । ‘खेल मात्र गाह्रो होइन, महिलाहरूले आफ्नो बडी देखाउनुपर्ने भएकले समाजमा पनि गाह्रो हुन्छ । अङ्गप्रदर्शन गरेको भनिन्छ, त्यसैले यो खेलमा महिलाहरू आउन चाहँदैनन्,’ अञ्जनाले भनिन्, ‘तर, बिस्तारै महिलाहरू पनि आउँछन् भन्ने लागेको छ ।’