हतुवागढी (भोजपुर): यही जेठ ३१ र ३२ गते आयोजना हुने हतुवागढी कला, साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

हतुवाली कला, साहित्य, संस्कृति प्रतिष्ठान हतुवागढीको आयोजनामा हुने सो महोत्सवमा देशका ख्याति प्राप्त साहित्यकार र पत्रकारको उपस्थिति हुने भएको छ । महोत्सवको रौनक बढाउन ख्यातिप्राप्त कलाकार फुलन्देकी आमा, लीला राई र हिरन राईको प्रस्तुति रहने भएको छ ।

भाषाशास्त्री प्राध्यापक डा. टङ्क न्यौपानेको प्रमुख आतिथ्यमा हुने पहिलो दिनको कार्यक्रममा साहित्य र सङ्गीतमा विशेष योगदान दिने २ जनालाई सम्मान गरिने भएको छ । कवि श्रीशीशा राईलाई हतुवागढी साहित्य सम्मान र सङ्गीतकर्मी राम थुलुङलाई हतुवागढी सङ्गीत सम्मानद्वारा सम्मान गरिने भएको छ ।
कार्यक्रममा खुला कविता प्रतियोगिता तथा प्रतिनिधि कविता वाचन कार्यक्रम पनि हुने भएको छ । देशभरबाट आएका २ सय ५ कवितामध्ये उत्कृष्ट १० कविता छनोट गरिने र र तिनै कविता वाचन गरिने जनाइएको छ ।

छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको साहित्यसेवी विश्वजीत राईले बताएका छन् । कविता प्रतियोगितामा पहिलो हुनेले १५ हजार तथा दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः नगद १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सोही दिन कुन्ता शर्मा, रमेशचन्द्र अधिकारी, राजेश विद्रोही, राजन इशारा, प्रकाश दिप्साली, मायामितु न्यौपानेलगायतले अतिथि कविता तथा गजल वाचन गर्ने आयोजकले जनाएको छ ।

महोत्सवको दोस्रो दिन खुला नृत्य प्रतियोगिता हुने भएको छ । विजेताले कविता प्रतियोगिताकै राशीसरह पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । नृत्य प्रतियोगिताको अवसरमा पूर्वकै स्थापित नृत्य प्रशिक्षक नगेन्द्र राई लगायतको उपस्थिति हुने बताइएको छ । कार्यक्रम हतुवागढी–४ फलामढुङ्गामा हुने तय भएको छ । कार्यक्रम सफल पार्न हतुवागढी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । बाँकी सहयोग शुभेच्छुकहरूबाट जुटाइएको प्रतिष्ठानका अध्यक्ष कृपालसिंह राईले बताए ।