झापाः २०५ औँ आदिकवि भानु जयन्ती ३ दिनसम्म धुमधामका साथ मनाउने तयारी भएको छ । झापाको मेचीनगरमा भानु साहित्यिक प्रतिष्ठानले आगामी असार २७, २८ र २९ गते विविध कार्यक्रमका साथ भानु जयन्ती मनाउने तयारी गरेको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले बताए ।

उनका अनुसार २७ गते मेचीनगर क्षेत्रभित्र माविस्तरीय प्रतियोगितात्मक कवि गोष्ठी हुने छ । गोष्ठीमा पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना हुनेले क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार तथा १ हजार प्राप्त गर्नेछन् । सोही दिन नगरभित्रका क्याम्पसस्तरीय हुने प्रतियोगितात्मक कवि गोष्ठीका विजेताले पनि माविस्तरीयका विजेताले पाएकै रकम पुरस्कार पाउने बताइएको छ ।

यसैगरी, २८ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कविले प्रतियोगितात्मक रचना पाठ गर्नेछन् । यसमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार, तेस्रो हुनेले ५ हजार तथा सान्त्वनाले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । असार २९ गते भानु जयन्तीका दिन प्रभातफेरीका साथै आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा र बलिहाङको शालिकमा माल्यापर्णसहित साहित्यिक चर्चा तथा पुरस्कार वितरण गर्दै कार्यक्रम समापन गरिने बताइएको छ ।

यसै वर्षदेखि विभिन्न तीनवटा प्रतिष्ठानले स्थापना गरेका पुरस्कार समेत एकसाथ प्रदान गरिने भएको छ । भानु साहित्यिक प्रतिष्ठान, कृष्ण– पवित्रा उप्रेती प्रतिष्ठान तथा हेमराज– मेदनी खरेल प्रतिष्ठान एक ठाउँमा मर्ज भएपछि पुरस्कार समेत एकै दिन प्रदान गर्ने बताइएको छ ।

यसवर्षको भानु साहित्यिक पुरस्कार साहित्यकार चुडामणि रेग्मीलाई प्रदान गरिने भएको छ । हरेक वर्ष भानु जयन्तीमा भानु साहित्यिक प्रतिष्ठानले नगद १ लाख १ हजार रुपैयाँ राशीको सो पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष उप्रेतीले बताए ।

भानु प्रतिभा पुरस्कार साहित्यकार खगिन्द्रा खुशीलाई प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ । उक्त पुरस्कारको राशी नगद १५ हजार र कदरपत्र रहेको छ । यी दुई पुरस्कार भानु साहित्यिक प्रतिष्ठानले स्थपना गरेको हो ।

यसैगरी, ५१ हजार रुपैयाँ राशीको धनमाया–पवित्रा स्मृति पुरस्कार गायक जीवन शर्मालाई तथा सोही रकमको टीकाराम– जानुका खरेल साहित्यिक पुरस्कार स्रष्टा राम धामीलाई प्रदान गरिने भएको छ । धनमाया–पवित्रा स्मृति पुरस्कार कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा टीकाराम जानुका खरेल स्मृति पुरस्कार हेमराज—मेदनी खरेल प्रतिष्ठानले स्थापना गरेको पुरस्कार हो ।

भानु साहित्यिक प्रतिष्ठान, कृष्ण– पवित्रा प्रतिष्ठान तथा हेमराज– मेदनी प्रतिष्ठानको संयुक्त छनोट समितिको बैठकले स्रष्टाको नाम सिफारिश गरेको थियो ।