इटहरीः साहित्य परिषद भुटानले डायस्पोरिक नेपालीभाषी भुटानी सर्जकलाई पुरस्कृत गर्ने भएको छ । जसको लागि कृति र एल्बमका प्रतिलिपिहरू जुलाइ ३१ भित्र परिषद्मा पठाउन आह्वान गरिएको छ ।

डायस्पोरिक नेपाली मूलका विभिन्न विधाका भुटानी स्रष्टालाई छुट्टाछुट्टै चारवटा पुरस्कार दिइने घोषणा गरिएको छ । दक्षिण अष्ट्रेलिया निवासी धमला परिवारबाट प्रत्येक दुइ वर्ष प्रदान गरिने जम्मा १ हजार १ अष्ट्रेलियन डलरको हिमतारा प्रतिभा सम्मान पुरस्कार गत वर्ष प्रकाशित उत्कृष्ट कविता वा गजलमध्ये कुनै एक कृतिका सर्जकलाई दिइने भएको छ ।

त्यस्तै, प्रत्येक २ वर्षमा प्रदान गरिने १ हजार ५ सय ३ अमेरिकन डलरबराबरको सुराक सङ्गीत सिर्जना पुरस्कारका लागि गीत लेखन, गायन र सङ्गीतकारमध्ये उत्कृष्ट ३ जनालाई प्रदान गरिने भएको छ ।

सम्पूर्ण लामिटारे परिवारबाट प्रदान गरिने हिमटिका स्मृति आख्यान पुरस्कार १ जना आख्यानकारलाई दिइने भएको छ । १ हजार १ अमेरिकी डलर राशीको सो पुरस्कार प्रत्येक ३ वर्षमा प्रदान गरिने परिषद्ले जनाएको छ ।

१ हजार ५ सय १ अमेरिकी डलर राशीको मुना स्मृति कथा पुरस्कार १ जना कथाकारलाई दिइने भएको छ । परिषदका अनुसार प्रत्येक ५ वर्षमा सो पुरस्कार प्रदान गरिन्छ ।

भुटानी समुदायभित्रका विभिन्न पुस्ताका सर्जकलाई लेखन, गायन तथा सङ्गीतको क्षेत्रमा अभिप्रेरणा जगाउने उद्देश्यले यी पुरस्कारको घोषणा गरिएको बताइएको छ ।