इटहरीः इटहरीमा बसेर गजल साधना गर्ने पूर्वकी चर्चित गजलकार टीका आत्रेय पौडेलको गजलकृति युगको सङ्घार शनिवार लोकार्पण हुने भएको छ । साहित्य सञ्चार प्रतिष्ठानको आयोजनामा हुने लोकार्पण कार्यक्रम कोसी कलेजको सभाहलमा २ बजेपछि हुने आयोजकले बताएको छ ।

शीर्षकसहित गजल लेख्ने थोरै गजलकारमा पर्ने पौडेलको नयाँ कृतिलाई सङ्घीय राजधानीको शिखा बक्सले प्रकाशन गरेको हो । ८० वटा गजलहरू सङ्ग्रह गरिएको गजलको लोकार्पण समारोह वरिष्ठ कवि कुन्ता शर्माको प्रमुख आतिथ्यमा हुने आयोजकले बताएको छ । गजलकार पौडेलले यस अगाडि २०६८ सालमा ‘मनको क्षितिज’ नामक गजल सङ्ग्रह प्रकाशित छ ।

इटहरीको जनता क्याम्पसमा प्राध्यापन समेत गर्दै आएकी पौडेलको गजल वाचन र गायन दुवै पक्ष अब्बल भएको विराटनगरका युवा समीक्षक दीपक सम्चु बताउँछन् ।