सङ्खुवासभाः एउटा गरुड, त्यसमा चढेको काँडे भ्याकुर, त्यसलाई रातो पाण्डाले छाता ओढाएको, र त्यसमा पुष्पगुच्छा वर्षाएको चित्र गातामा देख्न सकिन्छ । शीर्षकमा लेखिएको छ, काँडे भ्याकुरको शुभ विवाह ।

सुन्दा पनि अचम्म लाग्छ । कसरी हुन्छ काँडे भ्याकुरको विवाह । तर काँडे भ्याकुर र रातो पाण्डाको संरक्षण गर्नुपर्छ भन्ने सन्देशसहित साहित्यकार ताराबहादुर बुढाथोकी ‘पाख्रीबासे कान्छो’ ले काँडे भ्याकुरको शुभ विवाह गरिदिएका छन् पुस्तकमार्फत् ।

पुस्तकका अनुसार काँडे भ्याकुरले अरुण उपत्यकामा बेहुली नभेटेपछि घुम्दै जाँदा रारामा बेहुली भेटिन्छ । त्यहीँ बिहेको कुराको छिनोफानो हुन्छ । जन्ती जाने निश्चित हुन्छ । त्यसमा लोकन्तीको भूमिका निर्वाह गर्छ एउटा रातो पाण्डाले । उडेर जान सक्ने चराहरू रारा पुग्छन् । रारामा पुगेर बेहुली अरुण उपत्यकामा ल्याइन्छ ।

पुस्तकमा काँडे भ्याकुर, रातो पाण्डा, गरुड, कस्तुरी, हिउँभालु लगायतलाई पात्र बनाइएको छ । पात्रहरूले बेहुली लिन जाँदा र ल्याउँदा देशैभरका सांस्कृतिक र धार्मिक महत्वका पर्यटकीय स्थलहरूको परिक्रमा गर्छन् ।

यसरी हेर्दा यो कथाले पूर्वसँग पश्चिमलाई र हिमालसँग तराईलाई जोडेको छ । लेखकले काँडे भ्याकुरको लागि उपयुक्त बेहुली अरुण उपत्यकामा नभेट्नु नै यसको लोप हुनु हो भनेर सङ्केत गरेका छन् भने रातो पाण्डालाई लोकन्ती बनाउनुमा पनि त्यसकै सङ्केत रहेको लेखक बताउँछन् ।

पुस्तकमा अरुण उपत्यकाका चराहरूको वर्णन, सङ्खुवासभाको सांस्कृतिक वर्णन, सांस्कृतिक पोखरी र तीर्थस्थलहरूको वर्णन गरिएको छ । झण्डै १ सय पात्रहरूको प्रयोग गरिएको छ । यसमा सङ्खुवासभासहित कर्णाली र राराको सुन्दरता बयान गरिएको लेखकले बताए । कथा सङ्ग्रहमा १५ वटा कथालाई समेटिएको छ ।

शुक्रबार सो पुस्तकको बारेमा परिचर्चा गरिएको छ । पुस्तकको पत्रकार महासङ्घ सङ्खुवासभाको आयोजनामा परिचर्चा गरिएको हो । परिचर्चा कार्यक्रममा कृष्णबहादुर चापागाई, नवीन गुरुङ, डा. मातृका तिमल्सिनाले पुस्तकको बारेमा आफ्नो धारणा राखेका थिए ।

त्रिभुवन विश्वविद्यालय प्राज्ञ सभा सदस्य टीकाराम गुरुङको प्रमुख आतिथ्यतामा भएको परिचर्चा कार्यक्रममा सो पुस्तक प्रकृतिवादी धरातलमा उभिएर लेखिएको वक्ताहरूले बताए ।

kade bhyaukurko bihe (2)