कवि तथा समालोचक मिश्र वैजयन्ती

तपाईं आफू कवि, कथाकार अथवा समालोचक के हुँ जस्तो लाग्छ ? यी तीन विधामध्ये केमा सफल भएजस्तो लाग्छ ?
लेख्न त कथा, समालोचना जस्ता विधामा पनि लेखियो । समालोचनामा पनि उत्तिकै रूचिका साथ संलग्न भएको पाउँछु । धेरैजसोबाट ‘समालोचक’ भनी सम्बोधन गरिन्छु । तर मनको स्पर्शमा कविता छ । कविता नै लेखन शुरु गरियो । कविता नै प्रियकर लाग्छ । अरूले त समालोचनामा सफल हुनुहुन्छ भनिदिनुभएको सुन्छु । समालोचनामा बढी समय खर्चन्छु पनि तर कविता नै मेरो सन्तोषको विषय हो ।


कथा, कविता र समालोचनामा कति समानता पाउनुहुन्छ ?
विधागत रूपमा यी अलगअलग विषय हुन् । भाव र विचारमा कविता र कथामा समानता आउन सक्छ तर संरचनागत विषय अलग कुरा भएकाले त्यति नजिक छैनन् । कथा, कविता सिर्जना हुन् । सिर्जनाको विश्लेषण समालोचना भएकाले समालोचना त यी दुई विधाभन्दा अलग हुने नै भयो ।

अचेल कुन किताब पढ्दै हुनुहुन्छ ?
साहित्यको रस आस्वादनका लागि विचार र सिद्धान्तका विषयमा अध्ययन गर्नु आवश्यक ठान्छु । यसर्थ हिजोआज कलाकार, आख्यानकार तथा समालोचक सञ्जीव उप्रेतीको विचार र सिद्धान्तका विषयमा रोचक शैलीमा गरिएको विश्लेषणपरक पुस्तक ‘सिद्धान्तका कुरा’ पढ्दै छु ।

नयाँ पुस्ताका ३ जना साहित्यकारको नाम भन्न सक्नुहुन्छ ?
कति पछिकालाई नयाँ पुस्ता भन्ने भनी द्विविधामा परेँ । अत्यन्त राम्रो लेखन गर्ने अनेकन साहित्यकारहरू नयाँ पुस्ताकै छन् । ३ जनाको नाम भन्दा अरु छुट्न सक्छन् । बरू विषयको गाम्भीर्यलाई हलुका तरिकाले प्रस्तुत हुने साहित्यले बजार लिइरहेकाले नयाँ पुस्ता यसमा चलाख भएर निस्केको छ ।

तपाईंलाई मन परेका नेपाली भाषाका तीन थान किताब केके हुन् ?
धेरै किताब मन पर्छन् । छान्नुपर्दा नारी संवेदनालाई टिपेर लेखेको गोपालप्रसाद रिमालको ‘मसान’ नाटक, मिथक र विद्रोहका कविता समेटिएको ‘वैरागी काइँलाका कविता’ जहाँ मातेको मान्छेको भाषण र बैला उत्सव कविता छन् अनि राज्यको उत्तरी सिमानाका कथासँग सम्बन्धित डोरबहादुर विष्टको ‘सोताला’ उपन्यास निकै सम्झनामा आउँछन् ।

६ साहित्य कसका लागि लेख्नुहुन्छ ?
साहित्य नै नपढ्नेका लागि पनि रचना लेखिएको छ । एउटा सफाइ मजदुरको कथा लेखेँथेँ, तर उनले त्यो नपढी मरे । जसले आफैं लेख्न सक्दैन उसलाई समेटेर केही रचना लेखिएका छन् । अर्काका कुरा लेख्नु आवश्यक छ । त्यो मैले लेखेँछु । आफ्नै कति र समाजका कति कुरा पनि पर्छन् । समष्टिमा आफ्ना कुरा कम र अरूका लागि बढी लेखेकी छु ।

मन परेको आफ्नो एउटा रचना भन्न सक्नुहुन्छ ?
आफ्ना कविता सबै मन परेकै हुँदा रहेछन् । तर मलाई मेरा कवितामध्ये ‘आमा, सपना र म’ कविता मन परेको छ ।