विराटचोकः तलब तथा भत्तावृद्धिको माग राख्दै बाल विकास केन्द्रका शिक्षिकाले सुन्दरहरैंचा नगरपालिकामा धर्ना दिएका छन् । दैनिक महङ्गी बढ्दै गए पनि सरकारले तलब भत्ता वृद्धि नगरेको, दरबन्दी कायम नगरेको उनीहरूले बताए । त्यस्तै, बाल विकास केन्द्रका बालबालिकाको लागि छात्रवृत्तिको व्यवस्था तथा खाजाको व्यवस्था नगरेको लगायतका माग पनि उनीहरूले समेटेका छन् । ३७ जना शिक्षिकाले नगरपालिकामा धर्ना दिएका हुन् ।
नगरपालिकामा पटकपटक ज्ञापनपत्र बुझाए पनि वास्ता नगरेको नेपाल राष्ट्रिय प्रारम्भिक बाल विकास केन्द्र नगर समिति सुन्दरहरंैचाकी अध्यक्ष दिव्याकुमारी शर्मा भेट्वालले बताइन् । ‘बाल विकासको कुरा लिएर मसँग नआउनू’ भन्दै मेयरले थर्काउने गरेको उनले आरोप लगाएकी छिन् ।
माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनीसमेत उनले दिएकी छिन् । नगरपालिकामा धर्ना दिनुअघि उनीहरूले भदौ ६, ७ र ८ गते हातमा कालो पट्टी बाँधेर विद्यार्थीलाई पढाएका थिए ।