इटहरी/ नेपाल संघीयतामा प्रवेश गरेपछि प्रदेश १ को प्रथम मुख्यमन्त्री भएका हुन् शेरधन राई । २०७२ साल कात्तिक १९ गते केन्द्रीय सरकारका प्रवक्तासँगै सञ्चारमन्त्री भइसकेका राई अहिले प्रदेशको मुख्यमन्त्री भएका हुन् । उनी अविवाहित भएको पनि धेरैलाई जानकारी नै छ । तर, मुख्यमन्त्री राईका केही कुराहरू भने धेरैलाई थाहा नहुन सक्छ । यी हुन् कमैलाई मात्रै थाहा भएका मुख्यमन्त्री शेरधन राईका ७ सेक्रेट्सः

१. जिल्ला सदस्य भएको ३० वर्षपछि मुख्यमन्त्री

शेरधन राई ५० मुनिका भएकाले उनको राजनीति निकै ढिलो शुरु भएको अनुमान धेरैको छ । तर, सत्य त्यस्तो होइन । शेरधन राईले भोजपुरमा अनेरास्ववियुबाट २०४२ सालमा राजनीति शुरु गरेका थिए । उनी भोजपुरको एमाले जिल्ला कमिटीमा २०४४ सालै पुगेका थिए । यसरी २०४४ सालमा पार्टीको जिल्ला सदस्य भएका राई ३० वर्षपछि २०७४ साल फाुगन पहिलो हप्ता प्रदेश १ को मुख्यमन्त्री भए ।

२. राईको पार्टी नाम ‘निछाक’ थियो

मुख्यमन्त्री शेरधन राईले पञ्चायतकालीन राजनीतिमा आफ्नो अर्कै नाम राखेका थिए । कमरेड ‘निछाक’ भनेर पञ्चायत कालमा चिनिन्थे मुख्यमन्त्री राई । ‘निछाक’ भनेको किरातीहरूको बान्तवा भाषामा भाइ हो । कलिलो उमेरमा यही भाइ उपनामले राईले धेरै जिम्मेवार भूमिकामा पार्टी काम गरेका थिए । उनको यो उपनाम ३ वर्षसम्म चलेको भोजपुरका नेताहरू बताउँछन् ।

३. राष्ट्रिय राजनीतिक खेलाडी हुनु अगाडि भलिबल खेलाडी

शेरधन राईलाई नेपाली राजनीतिको खेलाडीको रूपमा लिनेहरूमा कमैलाई मात्रै उनी एक राम्रा भलिबल खेलाडी भन्ने थाहा छ । १० वर्षको उमेरदेखि हाल राष्ट्रिय खेल रहेको भलिबल खेलेका हुन राईले । २२ वर्षको उमेरतिर त उनी भोजपुरका एक लोकप्रिय खेलाडी भइसकेका थिए । २०४६ सालताका आयोजित रजत जयन्ती प्रतियोगितामा राई जिल्लाकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । २०५१ सम्मै भलिबल खेलेका राई पूर्वाञ्चल क्षेत्रमा धेरै प्रतियोगितामा पुरस्कृत भएका थिए । मामाले किनिदिएको मिकासा बलको सङ्गतमा आएपछि भलिबलको मोह जागेको राई आफ्ना निकटस्थहरूलाई सुनाउँछन् ।

४. चुनाव हुँदै मुख्यमन्त्रीको दाबा र प्रदेश १ का ‘म्यान अफ दि इलेक्सन’

शेरधन राई जब प्रदेश १ को प्रदेश सभामा भोजपुर २ बाट २०७४ साल मंसिर १० गते चुनाव लडे उनले भने, ‘म सांसद बन्न होइन मुख्यमन्त्री बन्न चुनाव लड्दैछु ।’ नभन्दै उनले अत्यन्तै राम्रो मार्जिनले चुनाव जिते जुन मार्जिन प्रदेश १ कै सबैभन्दा लोकप्रिय मत थियो ।

२० हजार ३ सय ३३ मत ल्याएर प्रदेश सभा सदस्यमा निर्वाचित राईले कुल सदर मतको ७१.२३ प्रतिशत मत ल्याएर प्रदेश १ कै ‘म्यान अफ दि इलेक्सन’ भएका थिए । प्रदेशमा मात्रै होइन कुल खसेको मतमा सबैभन्दा धेरै मत ल्याउनेमा देशभरमा शेरधन राई तेस्रो हुन सफल भए ।

५. सबैभन्दा लामो भोजपुर जिल्ला नेतृत्व गर्ने नेता

शेरधन राईले राष्ट्रिय राजनीतिमा फड्को मार्नु अगाडि जिल्लामा लामो अनुभव लिएका छन् । उनी भोजपुरमा लगातार ४ कार्यकाल अध्यक्ष भए । उनी २०५४ सालदेखि २०७० सम्म लगातार भोजपुर एमालेको प्रमुख भएका थिए । राई नै भोजपुरको साबिक एमालेको सबैभन्दा लामो कार्यकाल जिल्ला अध्यक्ष हुने एक्ला नेता हुन् ।

६. सबैभन्दा कान्छा सांसददेखि सबैभन्दा कान्छा मुख्यमन्त्री

२८ वर्ष मात्रै पुग्दा शेरधन राई २०५६ मा केन्द्रीय प्रतिनिधिसभाको सांसद भएका थिए । यो त्यो बेला थियो जब एमाले फुटेर माले भएको थियो । जिल्लाका सबै सिनियर नेताहरू एमालेबाट माले भएको अवस्थामा राईले भोजपुर क्षेत्र नम्बर २ बाट १८ हजार ४ सय ४७ मत ल्याएर विजेता बन्दै देशकै सबैभन्दा कान्छा सांसदसमेत भएका थिए । त्यस्तै, उनी ४७ वर्षकै उमेरमा कान्छा मुख्यमन्त्री बन्न सफल भएका छन् ।

७. साबिक एमालेबाट धमाधम जनजाति नेताहरू बाहिरिँदा शेरधनले रोक्ने नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए

भर्खरै पहिलो संविधानसभाको विगठन भएको थियो । एकल पहिचानको नारा लिएर अशोक राईहरू एमालेमा २०६९ सालमा बाहिरिन तयारी गर्दैथिए । आफूसँगै धेरै जनजाति नेता लगेर एमालेलाई रित्तो पार्न अशोक राईहरू लाग्दा शेरधनले ‘भद्र काउन्टर’ दिएका थिए ।

उनले त्यो बेला २४ जिल्लाका जनजाति अध्यक्षहरू भेला पारे । सबै जनजाति अध्यक्षहरू लिएर अशोक राईहरूको समूहसँग कुराकानी गरे । फलस्वरूप अशोक राईहरूले जनजाति नेताहरू निकालेर एमाले फुटाउन खोज्दा सकेनन् । केही नेताहरूले मात्रै साबिक एमाले छाडे । यो सबै हुनुमा शेरधन राईको नेतृत्वदायी कदमको आज पनि साबिक एमाले वृत्तमा चर्चा हुने गरेको छ ।