काँकरभिट्टाः भारतको दार्जिलिङमा हुन गइरहेको एक बृहत् साहित्यिक कार्यक्रममा सहभागी हुन नेपाली सर्जकहरूको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रतिभा प्रेरणा परिषद पुल बिजनवारी दार्जिलिङले शनिबार आयोजना गर्न लागेको प्रतिभा प्रेरणा पुरस्कार वितरण तथा साहित्यिक पत्रिका प्रतिभाको अनुवाद विशेषाङ्क सार्वजनिकीकरणमा सहभागी जनाउन साहित्यकार जान लागेका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगाप्रसाद उप्रेतीको नेतृत्वमा १३ सदस्यीय नेपाली स्रष्टाहरूको टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोलीमा कवि, कलाकार, पत्रकार रहेका छन् ।

टोलीलाई काँकरभिट्टामा आयोजक परिषदका पदाधिकारीहरूले स्वागत गरेका थिए भने स्रष्टा समाज बेलबारी मोरङले सम्मानसहित बिदाइ गरेको थियो । स्वागतका लागि परिषद्का तर्फबाट प्राध्यापक मेहरमान सुब्बा र कैलाश पाण्डे उपस्थित थिए ।

टोलीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर उप्रेतीसहित प्रतिष्ठानका प्रेस सल्लाहकार वासुदेव ढकाल, स्रष्टा समाज बेलबारीका अध्यक्ष तथा पूर्व सांसद हर्कमान तामाङ, जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय सदस्य गीतकार तथा सङ्गीतकार जेबी थुलुङ, समीक्षक तथा साहित्यकार प्राध्यापक डाक्टर भीम खतिवडा, बेलबारी नगरपालिकाकी उपप्रमुख तथा कवि तारा पराजुली टोलीमा सहभागी छन् ।

त्यस्तै, बेलबारी साहित्य विकास समिति अध्यक्ष रेखा सुवेदी, प्रगतिशील लेखक सङ्घ १ नम्बर प्रदेश सदस्य एवम् गजलकार तिला लेकाली, भानु साहित्यिक प्रतिष्ठान झापाका अध्यक्ष एवम् लेखक कृष्णप्रसाद उप्रेती, युवा गायक सञ्जीव धिमाल, पत्रकार अर्जुन कुलुङ र कवि बादल चाम्लिङ टोलीमा सहभागी छन् ।

कुलपति डाक्टर उप्रेतीले कुनै पनि स्रष्टालाई कुनै देशको भूगोल र रेखाले नछेक्ने संक्षिप्त प्रतिक्रिया दिए । उनले यस्ता साहित्यिक गतिविधिले दुवै देशको कला साहित्यको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
शनिबार बिजनवारी डिग्री कलेज परिसरमा आयोजना हुने कार्यक्रममा डाक्टर रेमिका थापालाई यस वर्षको प्रतिभा प्रेरणा पुरस्कार प्रदान गरिने भएको छ ।