पथरीः मोरङको पथरीशनिश्चरेमा वरिष्ठ लोक गायक एलपी जोशी र साहित्यकार धनकुटे कान्छा (शङ्कर चापागाई) सीएम कन्दङ्वा प्रतिभा पुरस्कार २०७६ बाट सम्मानित भएका छन् ।

सीएम कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट जोशी र राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट कान्छालाई सम्मान गरिएको हो ।
सम्मानित दुवैलाई दोसल्ला, ताम्रपत्र र नगद प्रदान गरिएको थियो । जोशीले नगद ५० हजार र कान्छाले ३५ हजार रुपैयाँ पाए ।

कार्यक्रममा सरस्वती वन्दना विद्यालयका सङ्गीत प्रशिक्षक अनिल फागाले सीएम कन्दङ्वाको व्यक्तित्वबारेमा तथा डा. रामनारायण कन्दङ्वाले कृतित्वबारेमा प्रष्ट्याएका थिए ।

कोषका अध्यक्ष तथा विद्यायलयका निर्देशक रविन कन्दङ्वाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान प्रदान गरेका थिए । कार्यक्रममा उप्रेतीका साथै साहित्यकार बद्री भिखारी, विवश बलिभद्र कोइराला, मधु पोखरेल, सुमित्रा वाङ्देल चेली, तेजराज खतिवडा, मीनकुमार ‘नवोदित’ लगायतले आफ्नो रचना वाचन गरेका थिए ।