धरानः सुनसरीका प्रगतिवादी स्रष्टा प्रा.डा भीम खतिवडा ओम कार्की स्मृति साहित्य प्रतिष्ठान चितवनद्वारा सम्मानित भएका छन् । चितवनमा कार्यालय भएको सो प्रतिष्ठानले सर्लाहीको राजघाटमा कार्यक्रम सम्पन्न गरेको हो ।

डा. खतिवडासहित मुलुकभरिबाट छनोट गरिएका ६ जना स्रष्टा सम्मानित भएका हुन् । ओम कार्की स्मृति साहित्य प्रतिष्ठानले हालै सर्लाहीको राजघाटमा राष्ट्रिय काव्य गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा देशभरबाट साहित्यक्षेत्रका विभिन्न प्रतिनिधि स्रष्टाहरूसंगै स्थानीय राजनीतिज्ञ, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

२०५६ साल बैशाख १९ गते तत्कालीन विद्रोही दल माओवादीको एम्बुसमा परी शहादत प्राप्त गरेका प्रहरी जवान ओम कार्कीको २० औं स्मृति दिवसको सन्दर्भ पारेर उक्त कार्यक्रमको आयोजना गरिएको थियो । द्वन्द्वमा माटोका लागि जीवन उत्सर्ग गर्ने कार्कीलाई गत वर्ष नेपाल सरकारले शहीद घोषणा गरेको थियो ।

प्रतिष्ठानकी अध्यक्ष अम्बिका कार्कीको सभापतित्व तथा प्रा. डा. भीम खतिवडाको प्रमुख आतिथ्यमा आयोजित राष्ट्रिय काव्य गोष्ठीमा वागमती नगरपालिका वडा नं ६ का वडाध्यक्ष तथा संस्थाका सल्लाहकार गोविन्द राईले स्वागत मन्तव्य राखेका थिए । ओम कार्कीको व्यक्तित्वमाथि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवराज भण्डारी तथा पूर्व गाविस अध्यक्ष विष्णु पुलामीले परिचर्चा गरेका थिए ।

शहीद ओम कार्कीको तस्बिरमा प्रमुख अतिथि प्रा.डा. भीम खतिवडा तथा प्रतिष्ठानकी अध्यक्ष अम्बिका कार्कीद्वारा माल्यार्पणपश्चात् प्रारम्भ भएको उक्त औपचारिक कार्यक्रममा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका स्रष्टाहरूलाई प्रतिष्ठानले सम्मानित गरेको थियो ।

सम्मानित हुने स्रष्टाहरूमा मकवानपुरका कवि समालोचक बिर्खे अञ्जान, काठमाडौंका कवि कलानिधि दाहाल, चितवनका महाकाव्यकार तथा अग्रज स्रष्टा केशवराज आमोदी, गजलकार पुष्प अधिकारी अञ्जली, सर्लाहीका मुक्तककार हरिकृष्ण काफ्ले र सुनसरी धरानका समालोचक प्रा.डा. भीम खतिवडालाई ओम कार्की साहित्य प्रतिभा सम्मानद्वारा सम्मानित गरिएको थियोे ।

दुई सत्रमा विभाजन गरिएको सो कार्यक्रममा दोस्रो चरणमा विशेष वाचनका लागि विभिन्न जिल्लाका साहित्यकारलाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रा.डा.भीम खतिवडाले कलमजीवीहरूको उत्साहका लागि स्थापना भएको प्रतिष्ठानले भोलिका दिनहरूमा जनजीविकाको सवालसँग जोडिएर काम गर्दै जाने हो भने साँचो अर्थमा शहीदलाई सम्मान गरिएको ठहर्ने बताए ।