धरानः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक पप्पु रिजालले भदौ १ गतेदेखि जारी मुलुकको अपराध संहिताले धेरै प्रश्न उब्जाएको बताएका छन् ।
प्रतिष्ठानको डेपुटी डाइरेक्टरसमेत रहेका रिजालले चिकित्सकलाई मनोवैज्ञानिक त्रासमा राख्न खोजिएको भन्दै कानुन बनाउने तहमा रहेका जिम्मेवार व्यक्तिले एक पटक सोच्नुुपर्ने बताएका छन् ।
पछिल्लो समय चिकित्सक तथा स्वास्थ्य संस्थाप्रति हमला बढिरहेका घटनालाई इङ्गित गर्दै चिकित्सक रिजालले भने, ‘डाक्टरलाई अपराधी करार गर्ने गरी जुन कानुन ल्याइएको छ, यसले स्वास्थ्य क्षेत्रमा हलचल ल्याइदिएको छ ।’
चिकित्सकहरूको सङ्गठनले यसबारे पुनर्विचार गर्न आग्रह गरेको समेत रिजालले जानकारी दिए । ‘कुन बेला कसले उजुरी देला र फसिएला भनेर चिकित्सकले अब जोखिम नमोल्ने भए, यसले स्वयम्ः बिरामीलाई नै घाटा पुु¥याउने निश्चित छ,’ उनले भने ।
चिकित्सक रिजालले चिकित्सकीय कमजोरीलाई कसरी पत्ता लगाउने भन्ने बारेमा एकिन कुरा कानुनले बोल्न नसकेको ठहर गरे । लापर्वाहीको हदलाइ कसरी पत्ता लगाउने भन्दै यसमा विज्ञको समूहले मात्र चिकित्सकको कमोजोरी हो होइन भन्ने बारे स्पष्ट बोल्न सक्ने बताए ।
उनले नेपालमा विश्वमा जस्तो मेडिकल कोर्ट अलग्गै व्यवस्था गर्न कठिन भए पनि मेडिकल सँग सम्बन्धित घटनालाई भने मेडिकल क्षेत्रकै वकिल राख्नुुपर्ने सुुझाव दिए ।
अहिले नेपालमा भइरहेका विभिन्न घटनालाई उदाहरण दिँदै रिजालले यदि विज्ञ अर्थात् मेडिकलबारे जानकार वकिल थिए भने धेरै केसमा खास पीडित र पीडक पत्ता लाग्ने उनले बताए ।
भदौ १५ गते सम्मको समयसीमा दिएर चिकित्सक संघ नेपालले सरकारलाई ध्यानाकर्षण गराएको छ । यदि जारी ऐनले भनेबमोजिमका बुँदामा पुनर्विचार नभए चिकित्कसले देशभर आन्दोलन गर्ने चेतावनी संघले दिएको छ ।
यस्ताे छ कानुनी व्यवस्था ?
भदौ १ गतेबाट लागू भएको मुलुकी ऐनको फौजदारी कार्यविधि संहिता परिच्छेद १९ मा रहेको ‘इलाज सम्बन्धी कसूर’को खण्ड २३१ मा ‘बदनीयत चिताई’ उपचार गरेर ज्यान गएमा ज्यानमारा सरहको फौजदारी कानून लाग्ने कुरा उल्लेख गरिएको छ । त्यस्तै खण्ड २३२ मा ‘लापरबाही’ या ‘हेलचक्र्याइँ’ गरी इलाज गर्दा ज्यान गएमा या अंगभंग भएमा पनि त्यस्तै कानून आकर्षित हुने कुरा छ ।