झापाः बहुजातीय सांस्कृतिक सङ्ग्रहालयसहितको झापा नाट्यघर निर्माणका लागि सहयोग रकम जुट्न थालेको छ । क्षितिज नाट्य समूहको अगुवाइमा शुरु भएको झापा नाट्यघर निर्माणका लागि सहयोग जुट्न थालेको आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । हाल सम्ममा ११ लाख ७३ हजार रुपैयाँ सङ्कलन भइसकेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नाट्यघर निर्माणका लागि क्षितिज नाट्य समूहका ९ जना कलाकार, ११ जना सामाजिक व्यक्तित्व तथा ३ जना दाताहरूले विभिन्न क्षेत्रको पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका हुन् । सबै जनाले ५१ हजार रुपैयाँका दरले सहयोग रकम प्रदान गरेको क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पित खतिवडाले जानकारी दिए ।

सहयोग गर्ने दाताहरूमा कलाकारतर्फ सृजना खतिवडा, मायादेवी सिटौला, सुरेश निरौला, शान्ता काफ्ले लुइँटेल, टंकप्रसाद गौतम (प्रकाश), ताराकुमार प्रसाई, सविता रेग्मी, बबिता पराजुली (लम्साल) र मदन विश्वकर्मा रहेका छन् ।

त्यसैगरी सहयोग गर्नेहरूमा सामाजिक अगुवाहरू ज्ञानुराम प्रसाई, कुमार भट्टराई, भानु शिवाकोटी, सुवास भट्टराई, राजु बस्नेत, सुवास बुढाथोकी, सीपी कडरिया, प्रशान्त भण्डारी, घनश्याम तिम्सिना, नारायाण पोख्रेल र शिक्षा बहुउद्धेश्यीय सहकारी संस्थाका तर्फबाट सुब्रत न्यौपाने रहेका छन् ।

अक्षयकोषतर्फ माधवप्रसाद सिटौला (पत्रकारिता पुरस्कार), हरिप्रसाद भण्डारी (सामाजिक क्षेत्र पुरस्कार) र माधव कल्पित (कलाकारिता पुरस्कार) रहेको छ ।

नाट्यघर निर्माणका लागि सहयोगार्थ बहुचर्चित नाटक ‘बर्बरिक’ यही बैशाख ७ गतेदेखि बिर्तामोडको अतिथि सदनमा मञ्चन हुँदैछ । ‘बर्बरिक’ प्रदीप नेपालको चर्चित उपन्यास हो । यसमा जीवन बरालको निर्देशन तथा भरत गुरागाईको नाट्य रूपान्तरण रहेको छ ।

पत्रकार भेटघाट कार्यक्रममा नाटक मञ्चन समितिका संयोजक ज्ञानु प्रसार्इँ, सह संयोजक तथा उद्योग वाणिज्य सङ्घ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाई, समाजसेवी राजकुमार पोख्रेल, अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईलगायतको उपस्थिति रहेको थियो ।