झापाः झापाको कनकाई नगरपालिका–४ टेक्रामा आयोजित कवि गोष्ठीमा एउटै मञ्चबाट विभिन्न भाषाका रचना वाचन गरिएको छ ।
मधुवन कला साहित्य तथा सांस्कृतिक मञ्चले आयोजना गरेको बहुभाषिक साहित्यिक कार्यक्रममा कनकाई नगरभित्र बसोबास गर्ने एक दर्जन बढी विभिन्न भाषाभाषीका कविले आफ्नो मातृभाषामा कविता वाचन गरेका थिए ।

साहित्यकार मुनराज शेर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै शेर्माले कार्यक्रमले समाजमा आफ्नो मातृभाषाप्रति गर्व गर्ने वातावरण तयार गरेको बताए । साहित्यकार गोपाल सङ्ग्रौलाले अन्य देशको भाषाको नक्कल गर्दा नेपाली भाषा विकृत र अन्य मातृभाषा लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरे । वडा अध्यक्ष कृष्ण राईले नगरले भाषा संस्कृतिको संरक्षणमा सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाली, तामाङ, शेर्पा, लिम्बू, राई, सन्थाल, राजवंशी, अङ्ग्रेजी, संस्कृत, हिन्दी, भोजपुरीलगायतका भाषामा रचना पाठ गरिएको थियो । यस वर्षबाट शुरु गरिएको बहुभाषिक कवि गोष्ठी आगामी वर्षदेखि जिल्लाव्यापी बनाइने आयोजक समितिका अध्यक्ष हेमन्त दाहालले बताए । कार्यक्रमको सञ्चालन सचिव वीरेन्द्र ओलीले गरेका थिए ।