घर, अफिस र पसलका
सादा भित्ताहरूमा
क्यालेन्डरका रङ्गीन पानाहरू फेरिए होला ।

जीवनको तोस्रोबाट
आयुका केस्राहरू फ्यास्स फ्यास्स
खकुलिँदै गरेको यो समय
छातीभित्र उदाएको प्रेमको घाम
र मनभित्र आसीन विश्वासको चहकिलो जून
कहिल्यै पुरानो भएनन्
बरु झनझन जवान छन् ।

वर्ष, महिना, गते, बार
अनि सिङ्गो शताब्दीको
गणितीय स्वरूप परिवर्तन भए,
बच्चा हुर्काइसकेको चरीको गुँड झैँ
थुपै वर्षहरू पुराना बनायौँ हामीले
सँगै कयौंपटक नयाँ युगसमेत पुरानो भयो ।

आँखै अगाडि कयौं दृश्य परिदृश्यहरू फेरिए
जसरी जे जे फेरिए पनि
यो विश्वासको रङ अनि
तिमीलाई प्रेम गर्ने मुटु
कहिल्यै फेरिने छैन ।