झापाः बहुजातीय, सांस्कृतिक सङ्ग्रहालयसहितको ‘झापा नाटक घर’ निर्माणका लागि पहल थालिएको छ । सो कार्यका लागि झापामा एक सातासम्म नाटक मञ्चन गरी रकम सङ्कलन गर्न लागिएको हो ।

प्रदीप नेपालद्वारा लिखित बर्बरिक उपन्यास’लाई झोराहाट नाट्य समूहका संयोजक भरत गुरागार्इंले नाट्यमा रुपान्तरण गरेका छन् । सोही नाटक आगामी वैशाख ७ गतेदेखि १३ गतेसम्म बिर्तामोडमा देखाइने क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितले बताए । उनका अनुसार सो नाटक मञ्चनबाट सङ्कलित रकमले झापामा सङ्ग्रहालयसहितको नाटकघर निर्माण गरिने छ ।

झण्डै रु २५ करोडको लागतमा निर्माण गरिने नाटक घरका लागि स्थानीय मनोज निरौलाले रु १ करोड बराबरको साढे ३ कठ्ठा जग्गा प्रदान गरेको बताइएको छ । पार्किङसहितको ७ तले नाटकघर निर्माणका लागि अहिले विस्तृत गुरुयोजना तयार भइरहेको बताइएको छ ।
अध्यक्ष कल्पितका अनुसार पहिलो चरणमा नगरपालिकाको सहयोगमा नाटकघर निर्माणका लागि पूर्वाधार जुटाइँदैछ । अहिले नाटकघर निर्माणस्थलसम्म पुग्ने बाटो कालोपत्रे गर्ने, विद्युत्, खानेपानीलगायत पूर्वाधारको काम भइरहेको कल्पितले जनाए ।

नाटक मञ्चनबाट रु २० लाख सङ्कलन हुने अपेक्षा गरिएको उनले बताए । भवन निर्माणको प्रारम्भिक काम शुरु गर्न देवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु प्रसार्इंको संयोजकत्वमा १५ सदस्यीय नाटक मञ्चन समिति गठन गरिएको बताइएको छ ।