इटहरीः विश्व सामाजिक कार्य दिवसको अवसरमा जनता बहुमुखी क्याम्पस इटहरीका विद्यार्थीले बाल अनाथ आश्रमलाई २० हजार रुपैयाँ सहयोग गरेका छन् ।
सो क्याम्पसले आयोजना गरेको कार्यशाला गोष्ठी कार्यक्रमको खुला सत्रमा सो रकम प्रदान गरिएको हो । मानविकी सङ्कायका विद्यार्थीले आफ्नो गोजी खर्च कटाएर सो रकम सङ्कलन गरेका हुन् ।
‘मानवीय अन्तर्सम्बन्ध प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ सम्पन्न भएको सामाजिक कार्यदिवसमा आश्रमकी सञ्चालक गीता गौतमलाई सो रकम हस्तान्तरण गरिएको हो । आश्रममा आश्रितको पढाइमा सहयोग पुगोस् भनेर रकम दिइएको विद्यार्थी सोमनाथ घिमिरेले बताए ।
सो कार्यक्रममा २५ वर्षदेखि खुला आकाशमुनि निःशुल्क ट्युसन पढाउँदै आएका शिक्षक चन्द्र भण्डारी, झापाको दुर्गा माविका शिक्षक खिलप्रसाद शिवाकोटी, दृष्टिविहीन गायिका मेनुका पौडेललगायतलाई सम्मान गरिएको थियो ।
पछिल्लो समय सामाजिक कार्यमा बढ्दै गएको व्यापारीकरण र त्यसको असरको बारेमा विद्यार्थीलाई सचेत गराउने उक्त कार्यक्रमको अयोजना गरिएको मानविकी सङ्कायका प्रमुख अर्जुन उप्रेतीले जानकारी दिए । सामाजिक कार्य अध्ययन गर्ने विद्यार्थीकै अग्रसरतामा कार्यक्रम सम्पन्न भएको उप्रेतीले बताए ।
प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । ‘मानविकी सङ्कायलाई कमजोर विद्यार्थी अध्ययन गर्ने सङ्कायको रूपमा बुझ्न हुँदैन’, कार्यक्रम उद्घाटन गर्दै पोखरेलले भनिन्, ‘क्रिएटिभ विद्यार्थी अध्ययन गर्ने सङ्कायको रूपमा बुझ्नुपर्ने देखिन्छ ।’
कार्यक्रमको समापनमा बोलेका क्याम्पस प्रमुख भोजराज श्रेष्ठले जनता बहुमुखी क्याम्पसका विद्यार्थीको अग्रसरताले आफूलाई समेत थप सक्रिय बनाइरहेको बताए । जनता बहुमुखी क्याम्पसले नजिकैका निजी कलेजसँगको प्रतिष्पर्धामा आपूmलाई सदैव अब्बल साबित गर्दै गएको उनको भनाइ थियो । विद्यार्थीहरू आफैँ सहभागी भएर सामाजिक कार्यमा रुचि जगाउनु आफैँमा रचनात्मक काम भएको उनले बताए ।
उता, बन्दसत्रमा भने ‘नेपालको दिगो विकासमा युवाको भूमिका’को बारेमा विषयविज्ञहरूले विद्यार्थीलाई सुझाएका थिए ।