सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले अवैध रूपमा भन्सार छली ल्याइएको पाउडर दूधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा–३ डाँडाटोल स्थित प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रदेश १–०१–००२ च ७१६४ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उक्त पिकअप चालक देवानगञ्ज गाउँपालिका–२ का ४३ वर्षीय नान्देव मेहता र इटहरी उपमहानगरपालिका–५ का ४० वर्षीय अर्जुन खड्कालाई शंका लागि चेकजाँच गर्दा भन्सार छली ल्याइएको ३३० किलो पाउडर दूध फेला परेको थियो। बरामद पाउडर दूधको मूल्य करिब रु २ लाख ६४ हजार रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जना तथा बरामद पाउडर दूध र पिकअप गाडीलाई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले अवैध रूपमा भन्सार छली हुने गतिविधिमाथि निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ।




















