विराटनगरः सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा विपद्का समयमा तत्काल उद्धार, राहत र प्रतिकार्यका काम प्रभावकारी रूपमा सञ्चालन गर्न कोशी प्रदेशमा पूर्वतयारीलाई थप व्यवस्थित बनाउने निर्णय गरिएको छ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष एवं कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाको अध्यक्षतामा बसेको बैठकले सम्भावित विपद्लाई मध्यनजर गर्दै आवश्यक स्रोत–साधन, जनशक्ति तथा उद्धार उपकरण तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
बैठकमा कोशी प्रदेशस्थित विभिन्न मन्त्रालयका सचिव तथा प्रदेशमा रहेका चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकले विपद्का समयमा तत्काल उद्धार तथा राहतका कार्य सञ्चालन गर्न सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायलाई उच्च सतर्कतासहित तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।
सम्भावित विपद्का सम्बन्धमा आवश्यकताअनुसार समयमै पूर्वसूचना जारी गर्ने व्यवस्था मिलाउन प्रदेशस्थित सबै सुरक्षा निकायलाई निर्देशन दिने निर्णयसमेत बैठकले गरेको छ। पूर्वसूचनाको प्रभावकारी प्रवाहमार्फत जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिने भएकाले त्यसतर्फ विशेष ध्यान दिने निर्णय भएको हो।
यसैगरी, प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रदेश कार्ययोजना, २०८३’ मा उल्लेख गरिएका जोखिमयुक्त बस्ती तथा घर स्थानान्तरणसम्बन्धी प्रबन्ध तत्काल मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरिएको छ।
जोखिमयुक्त क्षेत्रका नागरिकको सुरक्षा सुनिश्चित गर्न जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, स्थानीय तह र सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउनसमेत निर्देशन दिने निर्णय भएको छ। सम्भावित जोखिमको पहिचान गरी आवश्यकताअनुसार उद्धार तथा स्थानान्तरणको पूर्वतयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरिनेछ।
बैठकले विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीको उपलब्धता र वितरणलाई समेत व्यवस्थित बनाउने निर्णय गरेको छ। जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, स्थानीय तह वा सुरक्षा निकायबाट माग भई आएमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मौज्दात रहेका विपद् प्रतिकार्यसम्बन्धी सामग्री आवश्यकताका आधारमा सम्बन्धित निकायलाई निकासा गर्ने निर्णय गरिएको छ।
प्रदेश सरकारले सम्भावित विपद्को जोखिम रहेका क्षेत्रको पहिचान, पूर्वसूचना प्रणालीको प्रभावकारी प्रयोग, उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति र उपकरणको तयारी तथा जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ।
विपद्का घटना भएपछि मात्र उद्धार तथा राहतमा केन्द्रित हुनेभन्दा पनि सम्भावित जोखिमको पूर्वानुमान गरी आवश्यक स्रोत–साधन र जनशक्ति तयारी अवस्थामा राख्ने, सम्बन्धित निकायबीच समन्वय बढाउने तथा जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयलाई बैठकले विशेष प्राथमिकता दिएको छ।
कोशी प्रदेशमा बाढी, पहिरो, डुबान, नदी कटानलगायतका विपद्को जोखिम रहने भएकाले प्रदेश, जिल्ला, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना आदानप्रदानमार्फत विपद् प्रतिकार्यलाई चुस्त बनाउने निर्णय बैठकले गरेको हो।




















