ताप्लेजुङः ताप्लेजुङको मिरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार दिउँसो लागेको भीषण आगलागी करिब चार घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट आठ वटा घर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएका छन् भने दुई वटा घरमा आंशिक क्षति पुगेको छ ।
दिउँसो १३ः४० बजे डङ्डु शेर्पाको घरमा सञ्चालित कपडा पसल तथा होटलमा विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो । बजार क्षेत्रमा रहेका घर तथा पसलमा आगो फैलिन थालेपछि स्थानीयवासी, सुरक्षाकर्मी र दमकल परिचालन गरी आगो नियन्त्रणको प्रयास गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नं। १ कञ्चनजङ्घा गुल्म, नेपाल प्रहरी र नेपाली सेनाको टोलीसँगै फुङ्लिङ नगरपालिकाबाट परिचालित दुई वटा दमकल तथा स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
आगलागीबाट बजारका आठ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । दुई वटा घरमा भने आंशिक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । आगलागीबाट मानवीय क्षति भए–नभएको तथा क्षतिको थप विवरण संकलन भइरहेको सुरक्षाकर्मीले जनाएका छन् ।
आगो नियन्त्रणमा आए पनि जलेका संरचना तथा आसपासका क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले सुरक्षाकर्मी परिचालन गरी अवस्थाको निगरानी भइरहेको छ । आगलागीको कारण प्रारम्भिक रूपमा विद्युत् सर्ट भनिए पनि घटनाबारे थप विवरण संकलन भइरहेको छ ।




















