उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी टोलका ३२ घर सुकुम्बासीको जग्गा वि.सं २०२९ मा नापी भए पनि अहिलेसम्म सम्बन्धित व्यक्तिले लालपूर्जा पाउन सकेका छैनन् ।
सुकुम्बासी अरिमान मगर भन्छन्, ‘२९ सालमै पहिलो पटक पञ्चायत व्यवस्थामा आफूहरू बसेको जग्गा नापी भएको हो । त्यसबेलाको सरकारले लालपूर्जा दिने भन्दै टारेर आश देखाउँदै लामो समय कटायो ।’
वि.सं २०४६ पछि बहुदलीय व्यवस्था आएपछि पनि पुनः आफूहरू बसेको जग्गा पटक–पटक नापी भएको र आफूहरूले करसमेत तिर्दै आएको तर अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो स्थानीय भुटाई चौधरीको छ । वि.सं २०२९ देखि भोग गर्दै आएको जग्गा र करसमेत तिर्दै आएको जग्गाबाट बरु अहिले स्थानीय प्रशासनले पटक–पटक सूचना टाँस गर्दै हट्न निर्देशन दिने गरेको र नहटे बल प्रयोग गर्ने चेतावनीसमेत दिने गरेका कारण आफूहरू चिन्तित हुनुपरेको दिलबहादुर बोटे बताउँछन् ।
आफूहरूसँग पुरानो कर तिरेको रसिद सुरक्षित रहेका कारण पनि आफूहरूले भोग्दै आएको हुनाले जग्गाको लालपूर्जा ३२ घर सुकुम्बासीले पाउनुपर्ने दाबी यहाँ बसोबास गर्दै आएकाहरूको छ । तर स्थानीय प्रशासन तथा मालपोतका पदाधिकारी यसमा आफूहरूभन्दा माथिल्लो निकायको निर्णय हुनुपर्ने त्यसपछि मात्र उक्त जग्गाको लालपूर्जा पाइने बताउँछन् ।
कित्ता नं ५२ मा बसोबास गरेकालाई वि. सं २०२९ मा सुकुम्बासीको कागजपत्र प्रदान गर्दै उक्त जग्गा तत्काल हकभोग गर्न पाउने तत्कालीन सरकारले अधिकार प्रदान गरेको दिलबहादुर बोटे बताउँछन् ।