धनकुटाः धनकुटामा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सहयोगीको भरमा सञ्चालनमा रहेको छ ।

३ जना स्थायी र १ जना करार गरी ४ जनाको दरबन्दी रहेको सो कार्यलयमा हाल निमित्त प्रमुख र कार्यालय सहयोगी मात्रै कार्यरत छन् । निमित्त कार्यालय प्रमुख शिवशङ्कर मिश्र बजेट तर्जुमा तथा वार्षिक बजेट समीक्षा गोष्ठीमा सहभागी हुन हेटौंडा गएपछि कार्यालय सहयोगी पारसकुमार खाँ थारु मात्र कार्यालयमा भेटिन्छन् । चैत ४ गतेदेखि ६ गतेसम्म हुने गोष्ठीमा भाग लिन मिश्र हेटौंडा गएका हुन् ।

कार्यालय सहयोगीको काम भनेको कार्यालयको रेखदेख, हेरचाह, दर्ता चलानी र सरसफाइ मात्रै हो । कार्यालयमा कोही सेवाग्राही आइहाले रित्तो हात फर्कनुपर्ने स्थिति छ ।

कार्यालय स्थापना भए पनि विभागले दरबन्दीअनुसार कर्मचारी नपठाइदिँदा कार्यसञ्चालन गर्न समस्या परेको गोष्ठीमा सहभागी हुन हेटांैडा पुगेका निमित्त प्रमुख शिवशङ्कर मिश्रले टेलिफोनमा बताए । कार्यक्षेत्र ४ जिल्ला भए पनि पर्याप्त जनशक्ति र दरबन्दी नहुँदा समस्या भएको छ ।

कार्यालयमा खाद्य अनुसन्धान अधिकृत १, प्राविधिक सहायक २ र करारमा कार्यालय सहयोगीको दरबन्दी छ । तर दरबन्दी अनुसार कार्यालयमा कर्मचारी छैनन् । धनकुटासहित कोशी पहाडका सङ्खुवासभा, भोजपुर र तेह्रथुम कार्यक्षेत्र रहने गरी गत मंसिरमा औपचारिक रूपमा उद्घाटन भई कार्यालय सञ्चालनमा आएको थियो । कार्यालय रहेको भवनमा १० वटा कोठा छन् । हरेक कोठामा विभिन्न फाँट रहेका छन् । तर कर्मचारी नहुँदा ती फाँटका कोठा सुनसान छन् ।