फाइल तस्बिर
इटहरीः समाजवादको यात्रा तय गर्न सामाजिक विज्ञान अनिवार्य रूपमा राजनीतिक नेतृत्वले बुझ्नुपर्ने प्रतिनिधि सभाका सांसद तथा विश्लेषक राम कार्की सुरेन्द्रले बताए ।
समाजवादको यात्रा त्यत्तिकै तय नहुने उनको भनाइ थियो । समाजमा रहेका समस्याहरूलाई वैज्ञानिक तरिकाले निराकरण गर्ने उपाय समाज विज्ञानले देखाउने भन्दै कार्कीले सामाजिक विज्ञानको अध्ययन अनिवार्य रहेको बताएका हुन् ।
प्रदेश नम्बर १ मा रहेर समाजकार्य विषय अध्ययन गरेका युवाहरूको सम्मेलन सोमबार इटहरीमा उद्घाटन गर्दै कार्कीले नेपालको सामाजिक विज्ञान अध्ययनलाई थप मौलिक बनाउँदै दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उल्लेख गरे ।
‘पूँजीवाद लडाइँ हो । पूँजीवादमा एउटाले अर्कोलाई नलडाई समृद्धि आउँदैन भन्ने मान्यता राख्छ तर समाजवाद त्यस्तो छैन अनि होइन । समाजवादमा सबैको जीत हुन्छ’, कार्कीले भने, ‘त्यही सबैको जीत हुने समाजवाद ल्याउन सामाजिक विज्ञानलाई थप सुदृढ बनाउँदै आम जनताको अध्ययनको विषय बनाउनुपर्ने आवश्यकता छ ।’
कार्कीले अहिलेको सामाजिक विज्ञान अन्तर्गतका पाठ्यक्रमहरू समयानुकूल परिवर्तन नभएर दक्ष सामाजिक अध्येताहरू उत्पादन नभएकोमा दुःखसमेत प्रकट गरेका थिए ।
‘पाठ्यक्रम हरू पनि मौलिक अलि छैनन्,’ उनले भने, ‘माटो सुहाउँदो पाठ्यक्रम बनाएर लागू गर्न सकिए सामजिक जागरणमा थप भूमिका निर्वाह हुने थियो ।’
कार्कीले उद्घाटन गरेको सम्मेलनमा प्रदेश नम्बर १ का ३ सय भन्दा बढी व्यावसायिक र औपचारिक रुपमा सामजिक कार्य अध्ययनरत विद्यार्थीहरू सहभागी छन् । सामाजिक कार्य अध्ययनरत विद्यार्थीको भेलाले प्रदेश सरकारलाई कार्यक्रमपश्चात् सामाजिक समस्याको विषयमा घच्घच्याउनुपर्नेमा कार्कीको जोड थियो ।
‘प्रदेश १ भरिकै व्यावसायिक सामाजिक कार्यकर्ताहरू हुनुहुन्छ । वैज्ञानिक तरिकाले समाजको अध्यय नतपाईंहरू गर्न सक्नुहुन्छ’, कार्कीले भने, ‘कार्यक्रम सकिएपछि छलफलको विषयलाई प्रदेश सरकारसम्म पु¥याउनुहोला । प्रोफेसनल सामाजिक कार्यकर्ताको सुझाव प्रदेशले पनि लिनु पर्दछ ।’
इटहरी नमुना कलेज सामाजिक कार्य विभागले आयोजना गरेको सम्मेलनमा विभिन्न सामाजिक अभियन्ता र विशेषज्ञहरूले सामाजिक विज्ञानको परिवेशको बारेमा जानकारी गराउनेछन् । २ दिने सो कार्यक्रममा आफ्नो कर्मक्षेत्रमा सफल बनेका विभिन्न व्यक्तित्वसँग अन्तरक्रिया गरिने, सामाजिक कार्यप्रति युवालाई आकर्षित गर्ने, सामाजिक कार्यका लागि युवा सञ्जाल निर्माण गर्ने लगायतको उद्देश्य राखिएको संयोजक राईले बताए ।
कार्यक्रममा अमित तिमल्सिना, निरज न्यौपाने, भूमिका श्रेष्ठ, अरुण खड्का, लगायतका प्रशिक्षकले सहभागी विद्यार्थीलाई प्रशिक्षित गर्नेछन् ।