विराटनगरः प्रदेश नं १ को प्रदेशसभाको हिजोको शून्य समयमा बोल्दै सांसद ओमप्रकाश सरावगीले झापालाई तराईको जिल्ला घोषणा गर्नुपर्ने बताए ।

सङ्घीय सरकारले झापालाई पहाडी जिल्लामा गाभेकाले तराई भएर पनि यो जिल्लामा १ दिनअघि होली पर्व मनाउनुपर्ने बाध्यतालाई सच्याउन उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सदस्य कला घलेले उदयपुरमा वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते भएका नैनाबहादुर पहरीलाई उचित उपचारको व्यवस्था गर्न माग गरिन् ।

हिजोको बैठकमा प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिका सभापति तुलसीप्रसाद न्यौपानेले प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ को मस्यौदा पेश गरेका छन् ।

सो बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

उनले विधेयकमा सैद्धान्तिक छलफलमा भाग लिने सदस्यहरूबाट आएका अमूल्य सुझावले विधेयकलाई परिपक्व बनाउन मद्दत मिल्ने बताए ।

मन्त्री कार्कीले सरकारले अवलम्बन गरेको तीनखम्बे अर्थनीतिमा सहकारी पनि एक पाटो भएकाले यसलाई बलियो र परिपक्व बनाउन सदस्यहरूका विचार र सैद्धान्तिक बहसले कानुनमा त्रुटि हुन रोक्ने विश्वास व्यक्त गरे । सो विधेयकमाथिको छलफलमा १६ जना सदस्यले भाग लिएका थिए ।

शून्य समयमा सदस्य राजन राईले डढेलोका कारण खोटाङमा घरबासविहीन परिवारलाई राहत एवं बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरे । सदस्य विमल कार्कीले उदयपुरमा नदीनालामा लगाइएको तटबन्धका तारजाली काटेर ढुङ्गा चोरी भइरहेकाले यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए । सदस्य सूयर्माराज राईले प्रदेशसभा सदस्यबाट विकास निर्माणमा पठाइएको योजनालाई गाउँपालिका तथा नगरपालिकाका पदाधिकारीले तोकिएको स्थानमा नगरी अन्यत्र सार्ने परिपाटीलाई रोक्न सरकारको ध्यानाकर्षण गराए ।