बेलबारीः २ वर्षअघि नै बनाइसकेर जिम्मा लगाउनुपर्ने भवन बनाउन थालेको बेलबारीको मालपोत कार्यालयको भवन ४ वर्ष बितिसक्दा समेत निर्माण सकिएको छैन ।
२०७१ जेठ १९ गते सम्झौता भएर काम थालिएको भवन २०७५ साल सकिन लाग्दा समेत सकिएको छैन । मालपोत कार्यालय बेलबारीको भवन २०७३ जेठ १८ गते हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो । भवन निर्माणको ठेक्का एके एन्ड गान्वा कन्स्ट्रक्सन शान्तिनगर काठमाडौंले पाएको थियो ।
कम्पनीले ४ करोड ९८ लाख ८१ हजार ५ सय ४९ रुपैयाँ ६९ पैसामा भवन निर्माण सम्पन्न गर्ने ठेक्का पाएको थियो । नाकाबन्दी तथा भूकम्पको कारण देखाउँदै ठेकेदारले ढिलो गरेका कारण भवन निर्माणको काम ढिलो भएको मालपोत कार्यालयका कर्मचारीको गुनासो रहेको छ ।
भवन निर्माण सम्पन्न नहुँदा साँघुरो कोठामा काम गर्नुपर्दा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको मालपोत कार्यालय बेलबारीका प्रमुख योगेन्द्र दुलालले बताए । छिटो काम गर्न पटक–पटक आग्रह गरिए पनि ठेकेदारले विभिन्न कारण देखाउँदै काममा ढिलाइ गरेको दुलालले बताए । पटकपटक आग्रह गर्दा २ पटक म्याद थपेपछि चैतसम्ममा भवन हस्तान्तरण गर्ने सहमति भएको दुलालले बताए । कार्यालय भवन समयमै निर्माण नहुँदा साँघुरो र अँध्यारो कोठामा दिउँसै बत्ती बालेर काम गर्नुपर्ने बाध्यता रहेको छ ।
यता, ठेकेदार विनोदकुमार श्रेष्ठले भने चैत महिनासम्ममा कार्यालयलाई हस्तान्तरण गर्ने बताएका छन् । नाकाबन्दी तथा भूकम्पका कारण काम गर्न नसकिएको उनले बताए । उनले निर्माणाधीन भवनको सतहमा पानी धेरै भएकाले पानी सुकाउन समय लागेको बताए । उनले रङरोगन गर्ने काम मात्रै बाँकी रहेको र चैत मसान्तमा कार्यालयलाई हस्तान्तरण गर्ने जनाए ।