फाइल तस्बिर
उदयपुरः उदयपुर जिल्लाको त्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जङगलका विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता डढेलो लाग्न थालेको छ ।
नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथ्याई सामुदायिक वनक्षेत्रमा डढेलो लागेको छ । डढेलो फैलँदै गएपछि अहिले जिल्ला वन कार्यालयको नेतृत्वमा स्थानीय सामुदायिक वनसहितका टोलीले आगलागी नियन्त्रण कार्य शुरु गरेको छ ।
सनुवा सामुदायिक वनको मोथ्याई चुरे क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो गाउँक्षेत्रमा प्रवेश गर्ने खतरा बढेपछि जिल्ला वन कार्यालयको अगुवाइमा सामुदायिक वन, स्थानीयवासीसहित ५० जनाले दुई दिन लगाएर शनिबार दिउँसोसम्ममा डढेलो पूर्णरूपमा नियन्त्रण गरेको उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले जनाए ।
यस्तै नगरपालिकाको त्रिवेणी सामुदायिक वन मोतिगडा चुरे क्षेत्रमा पनि दुई दिनदेखि व्यापकरूपमा डढेलो बढ्दै गएपछि जिल्ला वन कार्यालय उदयपुरको अगुवाइमै शनिबार बिहानैदेखि नियन्त्रणको प्रयास भइरहेको बताइएको छ । सो क्षेत्रमा वनका कर्मचारीसहित स्थानीयवासी गरेर ४० जना डढेलो नियन्त्रणमा खटिएको अधिकृत यादवले बताए ।
चुरे वनक्षेत्रमा डढेलो लागेपछि चुरे क्षेत्रका गाउँ सनुवा, जोगीदह, मोथ्याई, मोतिगडा, भुल्केसहितका झण्डै १ हजार ५ सय परिवार रहेको गाउँ खतरामा परेपछि जिल्ला वन कार्यालयको अगुवाइमा डढेलो नियन्त्रण अभियान कार्यलाई तीव्रता दिइएको वन कार्यालयले बताएको छ ।
तीन दिनभित्र ५० हेक्टर बढी क्षेत्रफलको डढेलो नियन्त्रण गरिसकिएको र अब अन्य बाँकी क्षेत्रका डढेलो पनि नियन्त्रण कार्यलाई तीव्र पारिँदै गएपछि सामान्य हुँदै गएको बताइएको छ ।