फाइल तस्बिर
पाँचथरः पाँचथर जिल्लाको हिलिहाङ–३ को रमिते भीरमा लागेको आगो गाउँ पस्दा शनिबार राती ६ वटा घर जलेका छन् ।
बस्तीमा पसेको आगो नियन्त्रणमा आएको तर जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको स्थानीयको भनाइ छ । आगोले मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा र धनप्रसाद पालुङवाका घर जलेका छन् ।
आगलागी भएका घरमध्ये मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा र वेदमाया पौड्यालको घर पूर्णरूपमा जलेको छ । उनीहरूको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । आगलागीका कारण के कति क्षति भयो भन्ने तत्काल यकिन हुन नसकेको वडा सदस्य धनबहादुर पालुङवाले बताए ।
जङ्गलको आगो नियन्त्रणका लागि स्थानीयवासी, इलाका प्रहरी कार्यालय गोपेटार, इलाका प्रहरी कार्यालय अमरपुर, जिल्ला प्रहरी कार्यालय फिदिम, विष्णु दल गण जोरपोखरीबाट गएको टोलीले प्रयास गरिरहेको बताइएको छ । अहिले आगो पूर्वी क्षेत्र वनपाला जङ्गलतर्फ मोडिएको वडा सदस्य पालुङ्वाले बताए ।