झापाः नेपाल कम्युनिष्ट पार्टी झापाको एकता प्रक्रिया टुङ्गिएको छ । नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदलको बैठकले झापाका १५ वटा स्थानीय तहमध्ये ६ वटामा पूर्व माओवादी केन्द्र र ९ वटा स्थानीय तहमा पूर्व एमालेले नेतृत्व गर्ने निर्णय गरेसँगै एकता प्रक्रिया टुङ्गिएको नेकपाका नेता मणिकुमार साम्पाङ (विजय)ले बताए ।
उनका अनुसार भद्रपुर, मेचीनगर, शिवसताक्षी नगरपालिका र हल्दीबारी, गौरीगञ्ज तथा झापा गाउँपालिकामा पूर्व माओवादीले नेतृत्व गर्नेछ । त्यस्तै, बिर्तामोड, कनकाइ, दमक, गौरादह, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति, कचनवकल, बाह्रदशी र कमल गाउँपालिकामा पूर्व एमालेले नेतृत्व गर्ने सहमति भएको छ ।
त्यस्तै, १ सय ३१ वटा वडामध्ये ५३ वटा वडामा पूर्व माओवादीले नेतृत्व गर्ने जनाइएको छ । बाँकी ७८ वटा वडामा पूर्व एमालेले नेतृत्व गर्ने निर्णय भएको छ ।
पार्टीको जिल्ला अध्यक्ष पूर्व एमालेले र सचिव पूर्व माओवादीले लिने यसअघि नै सहमति भइसकेको तथा इञ्चार्ज र सह–इञ्चार्ज केन्द्रीय तहबाटै टुङ्गो लाग्ने बताइएको छ । नेकपा झापाको १ सय ७५ सदस्यीय जिल्ला कमिटीमा पूर्व माओवादीको भागमा ७० सदस्य परेको बताइएको छ ।