ताप्लेजुङः पाथीभरा क्षेत्रमा चल्ने सवारी साधनमा पाथीभराको भजन बाहेकका गीत बजाउन नपाइने भएको छ ।
पाथीभरा दर्शनार्थी लिएर जाने र फर्कने सवारी साधनले भजन बाहेकका गीत बजाउन नपाइने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो बताए । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकको निर्णयअनुसार चैत १ गतेदेखि लागू हुने गरी सो निर्णय गरिएको हो । पाथीभरा क्षेत्रको बाटो लगायतको जानकारी र भजन सहितका पेनड्राइभ यातायात व्यवसायीलाई वितरण गरिएको बताइएको छ ।
झापाको बिर्तामोडबाट ताप्लेजुङ आउने सवारी साधनमा सबैभन्दा पहिले पाथीभराको भजन बजाउन भनिएको छ । सो त्यसपछि बीचमा जुनसुकै गीत बजाउन पाइने भए पनि ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली नदीदेखि पुन भजन नै बजाउन यातायात व्यवसायीलाई अनुरोध गरिएको प्रजिअ भण्डारीले बताए ।
यता, काबेलीदेखि पाथीभरा मन्दिरसम्म भने अन्य कुनै गीत बजाउन नपाइने बताइएको छ । पाथीभराको प्रचारप्रसार गर्दै भक्तजनलाई सुरक्षित यात्राको अनुभूति दिलाउने लगायतका उद्देश्यले सवारी साधनमा भजन अनिवार्य गरिएको बताइएको छ ।