सोलुखुम्बुः उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आवश्यक कानुन बनेपछि ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नाराले सार्थकता पाउने बताएका छन् ।
थुलुङ दूधकोशी गाउँपालिकाको केन्द्रमा निर्माण हुने अस्पतालको शिलान्यास तथा अस्पताल निर्माणार्थ आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री पोखरेलले कानुन र आवश्यक संरचना नहुँदा चाहेर पनि सरकारले जनताको चहानाअनुसार काम गर्न नसकेको बताए । उनले भने, ‘कृषिमा आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, निजी क्षेत्रलाई प्रोत्साहन गर्दै बन्द या विस्थापित भएका उद्योग सञ्चालन गर्ने हाम्रो योजना रहेको छ ।’
उपप्रधानमन्त्री पोखरेलले कम्युनिष्ट मिलेको देखेर सबै आश्चर्यमा परेको भन्दै मत मिल्ने गैरकम्युनिष्ट पनि मिलेर देशको विकासमा जुट्न आग्रह गरे ।
नयाँ वर्षसँगै प्रदशेको नाम र राजधानीः मुख्यमन्त्री
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षसँगै प्रदेशले नाम र राजधानी पाउने बताए । त्यसका लागि प्रदेशसभा सञ्चालन नियमावलीसमेत तयार भइसकेको उनको भनाइ थियो । प्रदेश सरकारले तराई, पहाड र हिमाली जिल्लालाई योजना बाँडफाँड गरी विकास निर्माणमा जोड दिएको मुख्यमन्त्री राईले बताए ।
मुख्यमन्त्री राईले स्वर्ण सगरमाथा रिङरोडको काम भइरहेको भन्दै नेपालको सबैभन्दा होचो स्थान केचनाकवलदेखि विश्वको सबैभन्दा अग्लो स्थान सगरमाथा जोड्ने द्रुतमार्ग निर्माण गर्ने तयारी गरिरहेको बताए ।