धनकुटाः सेवा सुविधासम्बन्धी विभिन्न माग राखेर प्रविधिकहरू आन्दोलित भएपछि एक नम्बर प्रदेशका पहाडी जिल्लामा निजी आवास पुनर्निर्माणको काम अलपत्र परेको छ ।

फिल्डमा खटिएबापतको अतिरिक्त सुविधा, प्रोत्साहन भत्ता, स्वास्थ्य र दुर्घटना बीमा, भौतिक सुरक्षा तथा स्थानीय तहमा स्थायित्वको माग गर्दै प्राविधिकहरूले काम छाडेपछि धनकुटा, भोजपुर, तेह्रथुम र सङ्खुवासभामा पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन ।

गत फागुन १४ गते विज्ञप्ति निकालेर कार्यस्थल छाडेका प्राविधिकहरू फागुन महिनाको तलब बुझ्न २६ गते कार्यालय फर्के पनि उनीहरूले फिल्डको कुनै काम भने गरेनन् । प्राविधिक मूल्याङ्कन नहुँदा किस्ता पाउन योग्य भूकम्प पीडितहरूले समेत अनुदान रकम पाउन सकेका छैनन् ।

पुनर्निर्माणमा खटिएका प्राविधिकहरूको नियमन र तलब सुविधा स्थानीय तहमार्फत् दिलाउने व्यवस्था नभएसम्म पुनर्निर्माणको काम प्रभावकारी बन्न नसक्ने स्थानीय तहका पदाधिकारीहरुले बताएका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपालले पुनर्निर्माणमा खटिएका प्राविधिकहरूको नियमन र परिचालन स्थानीय तहलाई नदिए भूकम्प पीडितहरू घरबाहिरै हुने बताए । उनले भने, ‘पुनर्निर्माणमा खटिएका प्राविधिकहरू स्थानीय तह मातहत नआएसम्म निजी आवास पुनर्निर्माणको काम पूरा हुन सक्दैन ।’ धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुममा करिब १० हजार भूकम्प पीडित लाभग्राहीको सूचीमा समेटिएका छन् ।