फाइल तस्बिर
विराटनगरः प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले नेपालको संविधानले सबै जातजातिका अधिकारलाई सुनिश्चित गरेको बताएका छन् ।
नेपाल दशनामी समाजको पाँचाँै राष्ट्रिय महाधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उनले सन्यास प्रमुख जीवनशैली रहेको बताए ।
हिंसामुक्त समाज र मेलमिलापको सिद्धान्तलाई अङ्गीकार गरेको यो समाजले आपसी एकता र भाइचाराका सम्बन्धलाई विकसित गर्दै लैजानुपर्ने उनको सुझाव थियो । प्रमुख तुम्वाहाङले मुलुकका सबै जातजातिको पहिचान र मौलिकतालाई संरक्षण गर्नुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अधिकार र पहिचानको लडाइँमा दशनामी समाज ऐक्यबद्ध भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा समाजका पदाधिकारी राजेन्द्र गिरी, रवीन्द्रप्रसाद गिरी, दिनेशचन्द्र गिरी, महेश्वर भारती, रुद्र गिरी, डिल्लीराम गिरी र जुनुम गिरीले समाजको सङ्घर्षबाट नै संविधानमा दशनामी समाज सूचीकृत भएकामा खुशी व्यक्त गरे । सो अवसरमा समाजका प्रमुख संरक्षकको रूपमा जयराम पुरीलाई सम्मान गरिएको थियो ।