बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर ३ मा सुन्दर टोल रहेको छ । उक्त टोलका स्थानीयले नाम मात्रै सुन्दर राखेन्न काम पनि सुन्दर नै गरेका छन् ।
सो टोल विकास संस्था भित्रका पसलमा जाँडरक्सी तथा चुरोट, खैनी र तास किनबेच गर्न पाइँदैन । सुन्दा अचम्म लाग्न सक्छ सुन्दर टोल विकासका २ दर्जन भन्दा बढी किराना पसलमा यस्तो वस्तु किन्न पाइँदैन ।
टोलवासीले आफैँ नियम बनाएर सूर्तिजन्य वस्तु तथा मदिरा बिक्रीमा प्रतिबन्ध लगाएका छन् । सुन्दर टोल विकास संस्थाले टोलवासी तथा व्यापारीलाई समेत भेला गराएर सहमति गराएको छ । ‘धूमपान तथा मद्यपान विरुद्धको सामाजिक अभियान, सुन्दरटोल विकास संस्थाको अभियान’ भन्ने मूल नाराका साथ सुन्दर टोल क्षेत्रका दुई दर्जन जति पसलमा मदिरा तथा सूर्तीजन्य पदार्थको बिक्रीमा बन्देज लगाइएको सुन्दर टोल विकास संस्थाका अध्यक्ष अर्जुन राईले बताए ।
आफ्नो टोल आफैँ बनाऔँ भन्ने उद्देश्यका साथ आफ्नो टोलमा यो नियम लागू गरेको राईले बताए । ‘धेरै बालबालिका र युवायुवती कुलतमा लागेको पाइन्छ’, राईले भने, ‘रोकथाम गर्नका लागि अभियान थालेका हौँ ।’
पसलमा धूमपानजन्य र सूर्तिजन्य पदार्थ बिक्री गरिँदैन भनी लेखिएका स्टिकरसमेत सबैले देख्ने गरी टाँसिएको उनले बताए ।
मदिरा तथा सूर्तिजन्य वस्तु नियन्त्रणको अभ्यास सुन्दर टोल विकास सस्थाले थालेको वडा नम्बर ३ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताए ।
सुन्दर टोल विकास संस्थाले गरेको कामलाई आदिवासी जनजातिले स्वागतयोग्य भनेको छ । टोलमा मत्रै नभई नगरमै यस्तो प्रावधान अघि सार्नुपर्ने आदिवासी जनजाति महासङ्घ बेलबारीका अध्यक्ष तिलक राईले बताए ।