झापाः झापाको कनकाई नगरपालिका–२ मा हात्तीको आक्रमणमा परी ज्यान गुमाएका होमनाथ खनालको परिवारलाई किरियाखर्चबापत रु ५० हजार दिइएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले कनकाई–२ स्थित माझी गाउँमा रहेको खनालको घरमै पुगी परिवारलाई सो रकम हस्तान्तरण गरेका हुन् । खनाललाई गत फागुन २८ गते कनकाईस्थित जामुनखाडी सामुदायिक वनको हाताभित्र घाँस काट्ने क्रममा जङ्गली हात्तीले कुल्चेर मारेको थियो ।

पहिलो चरणमा किरिया खर्चबापत सो रकम उपलब्ध गराइएको प्रमुख घिमिरेले बताए । बाँकी रकम पछि उपलब्ध गराउन कागजात मिलाएर कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाउने तयारी गरिएको उनले बताए ।

हात्तीको आक्रमणमा परेर ज्यान गुमाउनेका परिवारलाई सरकारले रु १० लाख राहत उपलब्ध गराउने गरेको छ ।