झापाः उपभोक्ता हित संरक्षणका लागि स्थानीय सरकार तथा झापाका सरोकारवालाले ७ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भमा जिल्ला समन्वय समिति झापाद्वारा शुक्रबार बिर्तामोडमा आयोजित ‘उपभोक्ता अधिकारः बजार तथा भौतिक पूर्वाधार अनुगमन, चुनौती र समस्या समाधानका उपाय’ विषयक कार्यशालामा सरोकारवालाले उक्त प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यशालामा उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न उपभोग्य वस्तुको सेवाको गुणस्तर, परिमाण एवम् मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्नुपर्नेमा सबैको जोड थियो ।

जिल्ला समन्वय समिति झापा तथा स्थानीय तहका उपप्रमुख एवम् उपाध्यक्ष, विषयगत कार्यालयका विज्ञ, उपभोक्तावादी संस्था, स्थानीय तहका अधिकृत तथा प्रतिनिधि, उद्योग तथा वाणिज्य संघ एवम् अन्य सरोकारवालाले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

सबै स्थानीय तहमा आवश्यक नीति, निर्देशिका जारी गरेर उपभोक्ता हित संरक्षण समिति गठन गरी तत्काल काम कार्वाही अघि बढाउने प्रतिबद्धता जनाइएको छ । झापाका १५ स्थानीय तहमध्ये अहिले ८ वटामा मात्रै निर्देशिका बनाएर अनुगमन कार्य शुरु भएको छ । बाँकी स्थानीय तहमा समेत तत्काल निर्देशिका जारी गरी समिति गठन गरेर काम अघि बढाइने सो अवसरमा प्रतिबद्धता जनाइयो ।

त्यस्तै, उपभोक्ता हित संरक्षण समितिको नियमित बैठक, नियमित बजार तथा भौतिक पूर्वाधार अनुगमन तथा कारवाहीका माध्यमबाट उपभोक्ताको हित संरक्षण गर्न अग्रसर हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।

स्थानीय तह, विषयगत कार्यालय, उपभोक्तावादी संस्था, उद्योग वाणिज्य संघलगायत सबै सरोकारवालाहरुसँग नियमित समन्वय गर्ने तथा उपभोक्ता अधिकार रक्षाका लागि सबै सरोकारवालासँग समन्वय गरी सचेतना अभियान सञ्चालन गर्ने समेत प्रतिबद्धतामा उल्लेख छ ।

झापामा खाद्यवस्तु भित्रिने काँकरभिट्टा र भद्रपुर नाकामा दक्ष जनशक्तिसहितको विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि पहल गर्ने तथा बिर्तामोडमा रहेको विषादि परीक्षण प्रयोगशालालाई अधिकतम् उपयोगमा ल्याउने, विद्यालयका स्थानीय पाठ्यक्रममा उपभोक्ता अधिकार तथा सचेतनाका विषय समेट्न पहल गर्नेसमेत प्रतिबद्धता जनाइएको छ ।

उपभोक्ता अधिकारका क्षेत्रमा धेरै कुरा हुने गरे पनि विश्व उपभोक्ता अधिकार दिवस स्थानीय सरकारसहित सबै सरोकारवालालाई एकै ठाउँमा राखेर मनाउँदै उपभोक्ता हितका लागि प्रभावकारी काम गरेको भन्दै सहभागीले जिसस र संवाद समूहको प्रशंसा गरेका थिए ।